पवित्र मुक्तिनाथ क्षेत्रमा मनोहर हिमवर्षा

काठमाडौं । हिन्दू तथा बौद्धमार्गीहरूको महत्वपूर्ण तीर्थस्थलको मुक्तिनाथ मन्दिरमा विहानैदेखि बाख्लो हिमपातले मन्दिरमा दर्शन गर्न बिहानै पुगेका तीर्थयात्री तथा पर्यटकहरू समस्यामा परेका छन् ।

हिमपातका कारण मन्दिर, रानीपौवामा रहेका तीर्थयात्री तथा खिङ्गा क्षेत्रमा रहेका भक्तजनलाई सुरक्षित हुन अनुरोध गरिएको छ । बिहानै कागबेनी–मुक्तिनाथ सडकखण्डमा रहेका सवारीसाधन आवतजावतमा समस्या भएको हो ।

मोटरसाइकलमा सवार यात्रुलाई खिङ्गा क्षेत्रमा रोकिएको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ का वडा अध्यक्ष एवम् मुक्तिनाथ मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष प्रमेश गुरुङले बताउनुभयो । वडा अध्यक्ष गुरुङले भन्नुभयो, ‘‘अहिले तीर्थालु मन्दिरमा जान सक्ने अवस्था छैन, भारी हिमपात भइरहेको छ, हिउँमा सवारीसाधन दुर्घटना हुन सक्ने भएकाले सचेत बनाएका छौं ।’’

हिमपातले मुक्तिनाथ मन्दिरलाई छपक्कै छोपेको छ भने आसपासको क्षेत्र सेताम्मे भएको मन्दिरका कर्मचारी रविन सुवेदीले जानकारी दिनुभयो । मन्दिरमा रहेको १०८ धारा, कुण्ड लगायतका क्षेत्र हिउँले छोपेको छ ।

यसैबीच जिल्ला प्रशासन कार्यालयले हिमपातसँगै रोकिएका पर्यटकमा हाइअल्टिच्युड हुने सम्भावनालाई दृष्टिगत गर्दै स्वास्थ्यकर्मी र हाइअल्टिच्युड सेन्टरलाई  तयारी अवस्थामा राखेको छ भने उपल्लो मुस्ताङ क्षेत्रमा जाने सवारीसाधनलाई कागबेनी क्षेत्रमा सचेत बनाइएको छ ।

प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुषालले वारागुङ मुक्तिक्षेत्र–४ कागबेनीदेखि उपल्लो मुस्ताङ र मुक्तिनाथ मन्दिरमा दर्शनका लागि तत्काल नजान अनुरोधसहित सुरक्षाकर्मी परिचालन गरिएको बताउनुभयो । कागबेनीदेखि मुक्तिनाथ मन्दिर जाने सडकखण्डका बस्तीमा समेत हिमपात भएकाले सवारीसाधन दुर्घटनाको जोखिमसमेत हुने प्रजिअ भुषालको भनाइ छ । मङ्गलबार बिहानैदेखि उपल्लो मुस्ताङको सबै क्षेत्रमा हिमपात भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर