प्रधानमन्त्री सचिवालयको स्पष्टोक्ति सुनार र श्रेष्ठ मन्त्रीमा समावेश छैन
काठमाडौं । मन्त्री बन्ने चर्चामा रहेका खगेन्द्र सुनार फौजदारी मुद्दामा प्रतिवादी भएको तथ्य सार्वजनिक भएर चौतर्फी विवादित बनेपछि प्रधानमन्त्री कार्यालयले उनको नाम सिफारिस गरिएको मन्त्रीको सूचीमा नरहेको जनाएको छ।
प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले सुनारको नाम मन्त्रीको सूचीमा समावेश नै नभएको बताएको हो । प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार सुनारविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको विवरण सार्वजनिक भएपछि आएको हो ।
यसअघि खगेन्द्र सुनारले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको शपथ लिने तयारी भइरहेको समाचारहरू आएका थिए । तर, शपथ ग्रहणको पूर्व सन्ध्यामा सुनार फौजदारी मुद्दामा प्रतिवादी रहेको भेटिएपछि उनको सम्भावित नियुक्ति विवादमा तानिएको थियो ।
यसैबीच भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीका सिफारिस भएका गणपतिलाल श्रेष्ठको पनि शपथ नहुने भएको छ । भूमिसम्बन्धी मुद्दा विचाराधीन रहेको विषय बाहिरिएपछि उनको पनि प्रधानमन्त्री कार्यालयले सिफारिस रोकेसँगै आज शपथ नहुने भएको हो।
सुनारविरूद्ध काभ्रे अदालतको पक्राउ पुर्जी
यसैबीच सुशीला कार्की सरकारको मन्त्री सिफारिसमा परेका खगेन्द्र सुनारविरूद्ध जिल्ला अदालत काभ्रेले पक्राउ पुर्जी जारी गरेको पाइएको छ। सुनारविरूद्ध ४ साउनमा काभ्रे जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको भेटिएको हो। विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुर मुद्दामा उनीविरूद्ध सात र ३५ दिनको पक्राउ पुर्जी जारी भएको थियो। काभ्रे जिल्ला अदालतले जिल्ला प्रहरी कार्यालय दैलेखलाई उक्त मुद्दामा सुनारलाई पक्राउ गरी पठाउन चिठी लेखेको थियो।
