प्रदर्शनकारीलाई संवादमा आउन गृहमन्त्री अर्यालको आग्रह

काठमाडौं ।  गृहमन्त्री ओमप्रकाश अर्यालले सडकमा प्रदर्शन गरिरहेका विभिन्न समूहलाई संवादका लागि आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सुरक्षा निकायका प्रमुखसहितको छलफलपछि उनले सरकार संवादका लागि तयार रहेको स्पष्ट पारेका हुन् ।

‘राजनीतिक माग सरकारले संवादको माध्यमबाट सम्बोधन गर्छ । संवादमा आउनुपर्‍यो । संवाद गर्न सरकार तयार छ । सडकमा जानु जरुरी छैन’, गृहमन्त्री अर्यालले भने। लोकतान्त्रिक अधिकार प्रयोग गर्दा अरुको अधिकार हनन नहुनेतर्फ प्रदर्शनकारी सचेत हुनुपर्ने उनको भनाइ छ । गृहमन्त्री अर्यालको आग्रह जेनजी र दुर्गा प्रसाइँ समूहमाथि लक्षित रहेको सजिलैसँग बुझ्न सकिन्छ ।

‘सार्वजनिक र निजी सम्पत्तिमा क्षति पुर्‍याउनु भएन । कहीँकतै हिंसात्मक गतिविधि हुनु भएन । विभिन्न राजनीतिक शक्ति र आन्दोलनकारीलाई सरकारको अनुरोध हो’, गृहमन्त्रीले भने । बालुवाटारमा भएको सुरक्षा बैठकमा मुलुकको पछिल्लो सुरक्षा अवस्थाको सूक्ष्म विश्लेषण भएको जानकारी दिँदै उनले सुरक्षा स्थितिलाई सामान्यीकरण गर्दै चुनावको वातावरण बनाउन सरकार केन्द्रित रहेको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर