अनुमति नलिएको निहुँमा माइतीघरबाट ७६ जना पक्राउ

काठमाडौं । स्थानीय काठमाडौं प्रशासन कार्यालयलाई जानकारी नदिएको र प्रदर्शनका लागि अनुमति नलिएको भन्दै माइतीघर मण्डलाबाट आज शनिबार करिब ७६ जना प्रदर्शनकारीहरूलाई गिरफ्तार गरिएको छ । पक्राउ पर्ने सबै जेनजी युनाइटेडसँग आबद्ध रहेको बताइएको छ ।

स्थानीय प्रशासनको अनुमतिविना प्रदर्शन गर्न खोजिएको र अन्य जेनजी समूहबीच सम्भावित मुठभेडबाट प्रदर्शनकारीकै असुरक्षा हुने स्थिति देखिएकाले सोधपुछका लागि उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

पक्राउ परेका ७६ मध्ये ३६ जना महिला र ४० जना पुरुष छन् । जेनजी युनाइटेडका अगुवा मदन कार्कीले आफूहरूले स्वतन्त्र रूपमा प्रदर्शन गर्नका लागि जिल्ला प्रशासन कार्यालयसँग अनुमति माग्दा नपाएको बताए । विगत केही दिनदेखि माइतीघर मण्डलामा प्रदर्शनको सिलसिला चल्दै आएको छ ।

‘बालेन, सुदन र गृहमन्त्रीका समर्थकको मात्र माइतीघर होइन’

यसैबीच नेकपा एमालेका महासचिव शंकर पोखरेलले काठमाडौं महानगरका मेयर बालेन साह, हामी नेपालका संयोजक सुदन गुरुङ र गृहमन्त्री ओमप्रकाश अर्यालका समर्थकले मात्र माइतीघर मण्डललाई प्रदर्शनस्थल बनाएको दाबी गरेका छन्।

माइतीघरलाई एक पक्षको मात्रै बनाइएको उनको आरोप छ। सामाजिक सञ्जालमा उनले भनेका छन्, ‘माइतीघरमण्डला कुनै एक पक्षका लागि मात्रै होइन- सबैका लागि हो। बालेन, सुदन वा गृहमन्त्रीका समर्थकहरूको मात्रै प्रदर्शनस्थल बनाउनु कानुनी सिद्धान्तमाथिको उपहास हो।’

राज्यप्रतिका असन्तुष्टि, फरक मत, जनआवाज उठाउन आममानिसले प्रयोग गर्ने माइतीघर मण्डललाई एक पक्षीय बनाइएको पोखरेलको आरोप छ। माइतीघर सबैको आवाज उठाउने थलो भएको बताउँदै पोखरेलले अन्य पक्षलाई निषेध गर्नु कानुनी सिद्धान्तको उपहास भएको बताएका छन्।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर