जेन–जी शहीदको सम्झनामा सामूहिक भाइटीकामा सुदन गुरुङको चेतावनी

काठमाडौं । हामी नेपालका संयोजक सुदन गुरुङले जेन–जीहरूलाई विभाजित गर्ने प्रयास नगर्न राजनीतिक दलहरूलाई चेतावनी दिएका छन्।

 माइतीघरमण्डलमा जेन–जी आन्दोलनका शहीदको सम्झनामा बिहीबार आयोजित कार्यक्रममा उनले जेन–जीहरूलाई विभाजित गर्ने प्रयासमा पूराना राजनीतिक दलहरू लागेको आरोप लगाए।

‘जेन–जीहरूलाई कमजोर बनाउने उनीहरूको रणनीति थियो। उनीहरूलाई लागेको होला हामीले उनीहरूको रणनीति बुझेका छैनौं,’ गुरुङले भने, ‘जेन–जीहरूलाई विभाजित गर्न खोज्ने नेताहरूले यस्तो भ्रम नराखे हुन्छ।’

जेन–जीको एकता बिथोलेर नेताहरूले जेन–जी भन्दा त कांग्रेसै ठीक, एमाले नै ठीक हो भन्ने बनाउन खोजिरहेको जिकिर गरे। ‘अब नेपाली नागरिक भएर सोचौं। एउटै झण्डा मुनि मात्रै बसौं र देश विकास गरौं,’ उनले भने ।

‘मानिसहरू सिंहदरबार जल्यो भनेर चिन्ता गरिरहेका छन्, तर सिंहदरबार त हजार वटा बनाउन सकिन्छ,’ उनले भने, ‘तर एउटा आमाको कोख रित्याएर गएको छोरालाई कसले फर्काउन सक्छ ? करोड होइन, देशै बेचे पनि त्यो नागरिक जिउँदो फर्किँदैन।’

उनले आन्दोलनको मुख्य प्राथमिकता गोली हान्ने र आदेश दिनेहरूलाई कारबाहीको दायरामा ल्याउनु हुनुपर्ने बताए। ‘हाम्रो प्राथमिकता गोली हान्ने मान्छेबारे कुरा गर्नु हो, सिंहदरबार जल्नु दोस्रो कुरा हो,’ गुरुङले भने।

यसैबीच जेन–जी आन्दोलनको क्रममा शहीद भएकाहरूको सम्झना गर्दै काठमाडौंको माइतीघरमण्डलमा सामूहिक भाइटीका कार्यक्रम आयोजना गरिएको छ। जेनजी युनाइटेड परिवर्तन समूहले आयोजना गरेको कार्यक्रम गरिएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर