पुटिनले अनावश्यक आक्रामकताको मूल्य चुकाउने छ : स्टार्मर

काठमाडौं ।  बेलायतका प्रधानमन्त्री केरी स्टार्मरले संयुक्त राज्य अमेरिकाद्वारा रुसका दुई प्रमुख तेल कम्पनी रोजनेफ्ट र लुकोइल माथि लगाइएको ‘पर्याप्त प्रतिबन्धको स्वागत गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको ‘अनावश्यक आक्रामकता’ को अन्त्यको माग गर्नु भएको छ ।

बेलायतले युक्रेन युद्ध रोक्न दवाव बढाउने उद्देश्यले अक्टोबर १६ मा रुसको तेल उद्योगका विरुद्ध करिब ९० नयाँ प्रतिबन्धको घोषणा गरेको थियो । त्यसको ठीक एक हप्ता पछि अक्टोबर २३ मा अमेरिकाले पनि रुसका ती दुई ठुला ऊर्जा कम्पनीलाई लक्षित गर्दै थप कठोर आर्थिक प्रतिबन्ध लगाउने घोषणा गरेको हो ।

“गत हप्ता बेलायतले पुटिनको युद्ध मेसिनलाई आर्थिकरूपमा सहयोग गर्ने रुसका दुई ठुला तेल कम्पनीमा प्रतिबन्ध लगाएको थियो । म खुसी छु कि संयुक्त राज्य अमेरिका पनि अहिले ती नै कम्पनीहरूमा पर्याप्त प्रतिबन्ध लगाएर हामीसँग सामेल भएको छ”, प्रधानमन्त्री स्टार्मरले सामाजिक सञ्जाल एक्समा लेख्दै भन्नुभयो, “राष्ट्रपति पुटिनले आफ्नो अनावश्यक आक्रामकताको मूल्य चुकाउनै पर्छ । यो रक्तपात अब अन्त्य हुनुपर्छ ।”

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि युक्रेनमा जारी युद्ध अन्त्य गर्न र मस्कोमाथि दबाब बढाउने उद्देश्यले रोजनेफ्ट र लुकोइलमाथि नयाँ प्रतिबन्धको घोषणा गर्नु भएको थियो । अमेरिकाको यो कदम महिनौँदेखि अवरुद्ध कूटनीतिक प्रयास र राष्ट्रपति पुटिनको युद्ध-नीतिप्रति बढ्दो अन्तर्राष्ट्रिय असन्तुष्टिको परिणाम स्वरूप आएको हो ।

ह्वाइट हाउसमा पत्रकारसँगको अन्तरक्रियामा नाटो महासचिव मार्क रुटलाई स्वागत गर्दै राष्ट्रपति ट्रम्पले भन्नुभयो, “आजको दिन अत्यन्त महत्त्वपूर्ण छ । यी प्रतिबन्ध साँच्चै ठुला र प्रभावकारी छन् । ती रूसका दुई प्रमुख तेल कम्पनीविरुद्ध लक्षित छन् । हामी आशा गर्छौं कि यसले युद्धको समाधानमा सहयोग पुर्‍याउने छ । अहिले विभिन्न मिसाइल र सैन्य परीक्षणका विषयमा प्रश्न उठाइएका छन्, तर हामी चाहन्छौँ कि यो सब आवश्यक नहोस् र तिनीहरू आफ्नो सीमाभित्र फर्कुन ।”

अमेरिकी अर्थ मन्त्रालयले रुसको तेल उद्योगमाथि प्रतिबन्ध घोषणा गरेपछि तुरुन्तै राष्ट्रपति ट्रम्पको उक्त बयान आएको हो । नयाँ प्रतिबन्धको उद्देश्य रूसको युद्धका लागि राजस्व स्रोतमाथि प्रहार गर्नु र यसको कमजोर अर्थतन्त्रलाई थप दवावमा पार्नु हो । प्रतिबन्धपछि रोजनेफ्ट र लुकोइलका सम्पत्ति अमेरिकामा फ्रिज गरिएको छ र अमेरिकी नागरिक वा संस्थालाई ती कम्पनीसँग कुनै पनि प्रकारको वित्तीय कारोबार गर्न निषेध गरिएको छ ।

यससँगै, ती दुई कम्पनीका ५० प्रतिशत वा सोभन्दा बढी स्वामित्व रहेका सबै सहायक कम्पनी पनि औपचारिकरूपमा अमेरिकी प्रतिबन्ध सूचीमा समावेश गरिएका भए पनि वा नभए पनि स्वतः अवरुद्ध हुने छन् । प्रधानमन्त्री स्टार्मरले अन्त्यमा भन्नुभयो, “अन्तर्राष्ट्रिय समुदायले अब एक आवाजमा बोल्न आवश्यक छ । जबसम्म पुटिनले आफ्नो युद्ध नीतिको मूल्य तिर्नुहुन्न, तबसम्म युक्रेनमा शान्ति सम्भव छैन ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर