प्रधानमन्त्रीको नाम जोडिएर गरिएको भ्रामक प्रचारको खण्डन
काठमाडौं । सामाजिक सञ्जालमा प्रधानमन्त्री सुशीला कार्कीको नाम जोडेर भ्रामक प्रचार भएपछि प्रधानमन्त्रीको सचिवालयले आज भाइटीकाको दिन उनको कुनै पनि सार्वजनिक कार्यक्रम नरहेको स्पष्ट पारेको छ । ‘जेन-जी २.०’ नामक एक युवा समूहले प्रधानमन्त्रीको उपस्थितिमा दीप प्रज्वलनसहितको कार्यक्रम रहेको भन्दै सामाजिक सञ्जालमा प्रचार सुरु गरेपछि सचिवालयले उक्त खबरको खण्डन गरेको हो ।
प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलका अनुसार प्रधानमन्त्री कार्कीको आज टीका समेत नरहेको र उनी परिवारमै सीमित रहेर पर्व मनाइरहेकी छन् । ‘प्रधानमन्त्रीज्यूको आज कुनै सार्वजनिक कार्यक्रम छैन’, रावलले भने, ‘उहाँको आज टीका पनि छैन ।’
सचिवालयले प्रधानमन्त्रीसँग यस्ता कुनै पनि कार्यक्रमबारे कुराकानी समेत नभएको जनाएको छ । सामाजिक सञ्जालमा ‘जेन-जी २.०’ समूहले बिहीबार माइतीघर मण्डलमा प्रधानमन्त्रीको उपस्थितिमा सहिद परिवार र आन्दोलनका घाइतेले दीप प्रज्वलनसहितको कार्यक्रम राखेको भन्दै प्रचार गरेका थिए । यस प्रकारका भ्रामक सूचनाहरूले आम जनमानसमा भ्रम सिर्जना गर्न सक्ने भएकाले प्रधानमन्त्रीको सचिवालयले यस्ता अपुष्ट खबरहरूमा विश्वास नगर्न आग्रह गरेको छ ।
चाडपर्वको बेला यस प्रकारका गलत सूचनाहरू प्रवाह हुनु दुर्भाग्यपूर्ण भएको टिप्पणी गर्दै, सचिवालयले सबैलाई आधिकारिक स्रोतबाट प्राप्त जानकारीमा मात्र विश्वास गर्न अनुरोध गरेको छ ।
