साइबर ब्यूरोको चक्करमा स्वागत नेपाल
काठमाडौं । अधिवक्ता स्वागत नेपाललाई साइबर ब्युरोले सोधपुछका लागि बोलाएको छ। ब्युरोमा नेपालविरूद्ध उजुरी परेपछि सोमबार ब्युरोले उनलाई फोन गरी बोलाएको हो।
ब्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थीका अनुसार उनीविरूद्ध उजुरी परेपछि सोधपुछका लागि बोलाइएको हो। ‘उहाँविरूद्ध उजुरी परेकाले सोधपुछका लागि बोलाएका हौं। तिहारपछि आउँछु भन्नुभएको छ। अहिलेको अवस्थामा अनर्गल अभिव्यक्तिहरू आएका छन्। त्यही विषयमा हो,’ उनले भने। स्वागत नेपालले पनि सोमबार साँझ एक भिडिओ राखेर आफूलाई साइबर ब्युरोबाट फोन आएको बताएका छन्।
‘म आइहाल्नु पर्ला कि! आउँ कि हजुर भने! उनले तिहारको बेला छ, तिहार मनाउनुहुन्छ कि भनेर सोध्नुभयो। ठीकै छ भाइटिकामा दिदीबहिनीको हातबाट टिका लगाउँछु। आज लक्ष्मी पूजा छ, पूजा पनि गर्छु भने। उताबाट ठीकै छ तिहार मनाउनुस् भन्नुभयो,’ उनले भने।
‘प्रधानमन्त्री सुशीला कार्कीको नैतिकताको सम्बन्धमा मैले सञ्चारमाध्यममा उठाएका प्रश्नहरूका कारण थियो। मैले उठाएका प्रश्नहरू सुशीला कार्कीमात्रै होइन संसारका सबै प्रधानन्यायाधीश सबैभन्दा बढी नैतिकताको अपेक्षा गरिने पदमा रहने व्यक्ति हो। राष्ट्रपतिको भन्दा पनि नैतिकताको अपेक्षा प्रधानन्यायाधीशबाट गरिन्छ। किनकी राष्ट्रपति राजनीतिक पद हो ढुंगामुढा, गुण्डागर्दी, तिकडम, षड्यन्त्रबाट पनि आउन सक्छ। प्रधानन्यायाधीश भनेको राष्ट्रपतिले पनि नैतिकता छाडेपछि सिकाउने पद हो,’ उनले भने।
