महराको गिरफ्तारी प्रतिशोधको आशंका : माओवादी
काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले पार्टी उपाध्यक्ष कृष्णबहादुर महराको गिरफ्तारीप्रति गम्भीर आपत्ति जनाएका छन् । उनले तीन वर्ष पुरानो मुद्दाको नाममा गरिएको गिरफ्तारीले राजनीतिक प्रतिशोधको आशंका पैदा गरेको बताएका छन् ।
महासचिव गुरुङका अनुसार, अहिले मुलुक राष्ट्रियता र लोकतन्त्रको गम्भीर सङ्कटमा रहेको बेला राजनीतिक उद्देश्यसहित पुराना मुद्दा पुनः खोल्नु चिन्ताजनक छ । उनले भने, ‘देशको स्वाधीनता र स्थायित्व अहिले राजनीतिक दलको एकता र सहकार्यमा टेकेको छ । यस्तो संवेदनशील अवस्थामा कानुनी आवरणमा कुनै पनि प्रकारको षड्यन्त्र हुनु हुँदैन ।’
यसैबीच महराविरुद्ध अदालतमा मुद्दा दायर गरिएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख रामहरि काफ्लेले महराविरुद्ध मुद्दा दर्ता भएको पुष्टि गरेका छन् । सुन तस्करीमा संलग्न रहेको अभियोगमा उनलाई कारबाही अघि बढाइएको हो ।
सरकारी वकिलको कार्यालयले महराविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बिगो असुलउपरको मागसहित तीन वर्षभन्दा बढी कैद सजायको मागदाबी गरेको छ ।
