बालेन र सुदन गुरुङविरुद्ध नेविसंघको उजुरी
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र हामी नेपाल संस्थाका संयोजक सुदन गुरुङविरुद्ध अर्को पनि उजुरी परेको छ । नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघले पनि उनीहरुविरुद्ध उजुरी दिएको हो ।
नेविसंघका केन्द्रीय सदस्यहरू मनीषजंग थापा, अशोकसिंह विष्ट, विजय साहलगायतले उजुरी दिएका हुन् । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा आउन उक्साएको, आगजनी, तोडफोड गरी सरकारी सम्पत्तिमा क्षति पुर्याएकाले उनीहरुमाथि अनुसन्धान गर्न उजुरीमा माग गरिएको छ । उनीहरुले काठमाडौं र ललितपुर प्रहरीमा उजुरी दिएका हुन् ।
यसअघि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै सुदन गुरुङसहित मृतकका परिवारका सदस्य प्रहरीकोमा पुगेका थिए । प्रहरीले जाहेरी दर्ता गर्न अस्वीकार गरेपछि सोसल मिडियामा एरेस्ट केपी र एरेस्ट रमेश लेखक भन्दै अभियान नै चलाइएको थियो । त्यसपछि प्रहरीले जाहेरी बुझेर अन्दोलनबारे छानविन गर्न बनेको आयोगमा पठाएको थियो ।
सोही दिन बालेन र सुदनविरुद्ध काउन्टर उजुरी लिएर एमालेनिकट विद्यार्थी संगठन काठमाडौं प्रहरी परिसर पुगेको थियो । त्यसपछि विभिन्न जिल्लामा बालेन र सुदनविरुद्ध उजुरी परेको छ । यता केपी ओली र रमेश लेखकविरुद्ध परेको जाहेरी छानविन आयोगले प्रहरीमै फिर्ता पठाईदिएको छ ।
