हिजोसम्म उखु र दुग्ध किसानलाई झुक्याएको रहेछ : मन्त्री परियार
काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री मदन परियारले सरकारले उखु किसानलाई प्रोत्साहन रकम ७५ रुपैयाँ दिने भनेर ७० रुपैयाँ दिने गरिएको पाइएको बताएका छन् ।
मन्त्रालयमा बुधवार भएको कृषि पत्रकारहरुसँगको अन्तर संवादमा उनले किसानलाई प्रति क्वीन्टल ७५ रुपैयाँ अनुदान दिनुपर्ने ७० रुपैयाँ दिएको बताउँदै गतवर्ष त्यसमा पनि आधा कटौती गरेको बताए । गत वर्ष ३५ रुपैयाँ मात्रै प्रोत्साहन रकम भुक्तानी भएको उनले जानकारी दिए । के कारणले किसानको रकम कटौती भएको भन्ने बारेमा आफूलाई थाहा नभएको उनले बताए ।
किसानले ७० रुपैयाँ नै अनुदान माग गरेकोले सरकारले सोहीअनुसार भुक्तानी प्रक्रिया थालेको उनले जानकारी दिए । उखु किसानको अनुदान भुक्तानीको लागी थप ८० करोड रुपैयाँ बराबरको दायित्व सरकारलाई थपिने उनको भनाई छ । उनले दुग्ध विकास संस्थानले पनि ठूलो रकम किसानलाई भुक्तानी गर्न बाँकी रहेको बताए संस्थानले किसानलाई ५३ करोड रुपैयाँ बुझाउन बाँकी रहेको जानकारी दिए ।
दशैँअगाडि ८३ करोड भुक्तानी गर्न बाँकी रहेकोमा हाल ३० करोड भुक्तानी भएको उनले बताए । उनले किसानले आफूलाई दूधको पैसा कहिले तिर्नुहुन्छ ? भनेर म्यासेज गर्ने गरेको समेत बताए । संस्थानले ४ महिनाभित्रमा दूधको सबै रकम भुक्तानी गर्ने उनको भनाई छ ।
