शान्ति सुरक्षा बलियो बनाएर सबै पक्षलाई संयमित रहन आग्रह
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई शान्ति सुरक्षा बलियो बनाउन र सबै पक्षलाई संयमित रहन आग्रह गरेको छ । आयोगले आज बुधबार एक विज्ञप्ति जारी गर्दै हिंसात्मक गतिविधि र घृणायुक्त अभिव्यक्ति नदिन आग्रह गरेको हो ।
‘हिंसात्मक गतिविधि, अरुप्रति लक्षित नकारात्मक टीकाटिप्पणी र घृणायुक्त अभिव्यक्तिले सामाजिक सद्भाव खल्बलिने र राजनीतिक वातावरण समेत धुमिल हुने हुँदा यसबाट शान्तिसुरक्षा र विधिको शासनमाथि नै प्रतिकूल असर पर्न जान्छ,’ आयोगले भनेको छ ।
आयोगले भनेको छ, ‘सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिको संरक्षण गर्नु, विधिको शासन कायम गर्नु, सामाजिक सद्भाव कायम राख्दै जनमतमा आधारित स्वच्छ राजनीतिक प्रतिस्पर्धामार्फत वर्तमान संक्रमणकालीन अवस्थालाई निकास दिनु राज्यका सम्बन्धित निकायको दायित्व र त्यस्तो प्रक्रियालाई सघाउनु आमनागरिकको समेत कर्तव्य हुन जान्छ ।’
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले गत भाद्र २३ र २४ गते भएको हिंसात्मक कार्य र आगजनीमा भएको मानव अधिकार उल्लंघनको घटनाको अनुसन्धानलाई आयोगले तीव्रता दिइरहेको बताए । ‘विकसित परिस्थितिको अनुगमन गर्ने र सम्बन्धित निकायबाट तथ्य विवरण सङ्कलन गर्ने कामलाई आयोगले निरन्तरता दिइरहेको छ,’ उनले भने ।
‘विकसित परिस्थितिमा शान्तिसुरक्षा र विधिको शासनलाई मजबुत बनाउन सुरक्षा निकायको मनोबल उच्च बनाउँदै धैर्यता र संयमतापूर्वक आवश्यक कदमहरू चाल्न आयोग नेपाल सरकारलाई निर्देशन गर्दछ,’ आयोगले भनेको छ ।

