वर्षाका कारण यातायात सञ्जालमा गम्भीर अवरोध सिर्जना
काठमाडौं । मनसुनको सक्रियतासँगै आएको अविरल वर्षाका कारण देशका विभिन्न भू-भागमा बाढी र पहिरोले व्यापक क्षति पुर्याएको छ । यसबाट जनजीवन कष्टकर बनेको छ भने यातायात सञ्जालमा गम्भीर अवरोध सिर्जना भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार, प्रमुख राजमार्ग तथा सडकखण्डहरूमा पहिरो खसेका कारण सवारी आवागमन ठप्प भएको छ ।
काभ्रेपलान्चोक जिल्लाको रोशी गाउँपालिका-११ स्थित माम्तीखोला, बुलढुंगा र डालावेशी क्षेत्रमा खसेको पहिरोका कारण बीपी राजमार्ग अवरुद्ध भएको छ । संकटमा परेको अर्को प्रमुख राजमार्ग कोशी राजमार्ग हो । संखुवासभाको मकालु गाउँपालिका-३ एकुवा र भोटखोला गाउँपालिका-४ बरुणमा गएको पहिरोले गर्दा यो राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।
रसुवा जिल्लाको लाइफलाइन मानिने पासाङल्हामु राजमार्ग पनि पहिरोको चपेटामा परेको छ। गोसाईंकुण्ड गाउँपालिका-२ स्थित घट्टेखोला, बालुवाखानी र तातोपानी क्षेत्रमा खसेको पहिरोले सवारी आवागमनमा बाधा पुगेको छ ।
यसका साथै, गत असार २४ गतेको बाढीले रसुवाको गोसाईंकुण्ड गाउँपालिका-२ रसुवागढीस्थित नेपाल र चीन जोड्ने मितेरी पुलमा ठूलो क्षति पुर्याएको थियो । यद्यपि, काठमाडौं उपत्यका र यसका नाकाहरूको सवारी आवागमन भने सामान्य रहेको ट्राफिक कन्ट्रोल रुमले जनाएको छ । मौसममा सुधार आएसँगै अवरुद्ध सडकहरू खुलाउने प्रयास भइरहेको सम्बन्धित निकायहरूले जानकारी दिएका छन् ।
