वर्षाका कारण पूर्वका विभिन्न सडक खण्डमा ठूलो क्षति
काठमाडौं । निरन्तरको वर्षाका कारण पूर्वका विभिन्न सडक खण्डमा ठूलो क्षति पुगेको छ । सडक विभागअन्तर्गतको संघीय सडक सुपरीक्षण तथा अनुगमन कार्यालय झापा दमकले उपलब्ध गराएको विवरण अनुसार धेरै सडक खण्डहरूमा भूस्खलन, सडक भासिनु, पुल तथा कल्भर्ट भाँचिनुजस्ता घटनाले आवागमन अवरुद्ध भएको छ ।
रिपोर्ट अनुसार, हर्कपुर–ओखलढुंगा–सोलु र हलेसी–दिक्तेल–चकहेवा सडक खण्डमा साना भूस्खलन भएका छन् । यी सडकहरू खुला भएपनि लगातार फोहोर माटो हटाउने कार्य भइरहेको छ । त्यस्तै मिर्चैया–कटारी–घुर्मी सडक ६४ किलोमिटरमा भूस्खलनले अवरुद्ध छ । एक दिनभित्र खुलाउने गरी काम भइरहेको कार्यालयले जनाएको छ । गाईघाट–दिक्तेल सडक अन्तर्गत ३७ देखि ४५ किमीसम्म भूस्खलनले अवरुद्ध भएको छ । सडक सफा गर्ने कार्य जारी छ र एक दिनभित्र सुचारु गर्ने योजना छ ।
धरान–भेडेटार सडक खण्डमा भूस्खलनका कारण आवागमन अवरुद्ध भएको छ भने निसाने खोलातर्फ समेत क्षति पुगेको छ । दुई घण्टाभित्र सडक खोल्ने तयारी भइरहेको छ । भेडेटार–मुलघाट र पक्रीबास–लेगुवा सडक खण्डमा धेरै ठाउँमा भूस्खलन हुँदा केही ठाउँमा एकतर्फी सवारीसाधन मात्र सञ्चालन भइरहेका छन् ।
इलाम र पाँचथर तर्फका सडकहरूमा व्यापक क्षति भएको छ। विशेषगरी फिक्कल–गोदक, गोदक–मैखोला, नेपालटार–फिदिम खण्डमा सडक बगाएर बन्धा नष्ट भएको छ । कतिपय ठाउँमा पुल र कल्भर्टसमेत बगाएको छ । कतिपय खण्ड अझै अवरुद्ध छन् र तीन दिनभित्र पुनः सुचारु गर्ने लक्ष्य राखिएको छ । मेची करिडोरमा समेत ठूलो क्षति भएको छ। लालीखर्क, पुवाखोला र विभिन्न खोल्सामा पुल भाँचिएका छन् । यातायात सञ्चालन पूर्णरूपमा अवरुद्ध छ र क्षतिको मूल्यांकन भइरहेको छ ।
तामोर करिडोरअन्तर्गत मुलघाट–सुवाङ खोलासम्म समेत पानीको भेल र बाढीले सडक बगाएको छ । कम्तिमा दुई दिन अवरुद्ध हुने अनुमान गरिएको छ । अनुगमन कार्यालयका अनुसार विभिन्न स्थानमा भारी उपकरण परिचालन गरेर सडक खोल्ने काम भइरहेको छ। केही खण्ड छोटो समयमा खुल्ने भए पनि इलाम–पाँचथर र मेची करिडोरका सडकमा क्षति गम्भीर भएकाले यातायात सुचारु गर्न केही दिन लाग्ने देखिएको छ।
