सप्तकोशी नदीमा जलवहाव उच्च : तटीय क्षेत्रमा सतर्क रहन आग्रह
काठमाडौं । गत शुक्रबार र शनिबारदेखिको लगातार वर्षाले सप्तकोशी नदीको जलवहाव बढेको छ । जलवहाव उच्च भएपछि कोशी ब्यारेजमा सबै ५६ ढोका खोलिएका छन् । सुनसरी प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले कोशीमा पानीको वहाव प्रतिसेकेन्ड तीन लाख ३५ हजार ३६० क्युसेकभन्दा बढी भएपछि ५६ ढोका खोलिएको बताउनुभयो । उहाँका अनुसार नदीमा निरन्तर जलमापन भइरहेको छ ।
आज बिहान ८ः१५ बजे गरिएको जल सतह मापनमा कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेण्ड तीन लाख ३५ हजार ६० क्युसेक पुगेपछि ५० ढोका खोलिएको थियो ।
उहाँले भन्नुभयो, “पानीको सतह निरन्तर बढेपछि कोशी ब्यारेजमा जोखिमको सङ्केतस्वरुप रातो बत्ती बालिएको छ भने रातो झण्डा फहराइएका छन् ।” सप्तकोशी जलमापन कन्ट्रोल रुमले जलसतह जोखिम विन्दुभन्दा माथि पुगेको जानकारी दिएको छ ।बाढीले उदयपुर र सुनसरीका केही क्षेत्रमा जोखिम हुने हुँदा तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन प्रमुख जिल्ला अधिकारी मिश्रले आग्रह गर्नुभएको छ ।
मेची राजमार्ग अवरुद्ध, पुल बगाएपछि कोरिडोर ठप्प

लगातारको वर्षाले मेची राजमार्ग र कोरिडोर पूर्ण रूपमा ठप्प भएका छन् । पाँचथर खण्डमा मात्रै दुई दर्जनभन्दा बढी ठाउँमा ठूला–ठूला पहिरो खसेका छन् । फाल्गुनन्द गाउँपालिका–३ रमाइलोचोक, चिज फ्याक्ट्री, पौवा चोक, चिम्फुला र लालिखर्क क्षेत्रमा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
इलाम खण्डमा माइखोला, राजदुवाली र बिव्ल्याटे क्षेत्रमा पनि दर्जनौँ ठाउँमा पहिरो खसेपछि आवागमन पूर्ण रूपमा रोकिएको छ । माइखोलामा आएको बाढीले बेलिब्रिज क्षति पुर्याएको छ भने मेची कोरिडोर अन्तर्गतका माई खोला, पुवा खोला र जोगमाईका तीनवटा पक्की पुल बाढीले बगाएको इलाम प्रहरीले जनाएको छ । यी पुल बगाएपछि यस क्षेत्रमा सम्पूर्ण आवतजावत ठप्प भएको छ ।