लाङटाङ ट्रेकिङमा गएका ४ जना खोल्सा तर्ने क्रममा खोलाले बगाएर बेपत्ता
काठमाडौं । रसुवाको लाङटाङ ट्रेकिङमा गएका १६ जनामध्ये ४ जना खोल्सा तर्ने क्रममा खोलाले बगाएर बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक राजु शाहका अनुसार असोज १७ गते लाङटाङ ट्रेकिङका लागि हिँडेका टोली १८ गते शनिवार गोसाईंकुण्ड गाउँपालिका–४ स्थित बेरिङ खोलामा दुर्घटनामा परेका हुन्। खोल्सा तर्ने क्रममा ८ जना खोलाले बगाए पनि तीमध्ये ४ जना सम्पर्कमा आएका छन् भने संस्कृति श्रेष्ठ, किशन श्रेष्ठ, सङ्गीता श्रेष्ठ (मध्यपुर ठिमी नगरपालिका) र रवि श्रेष्ठ (भक्तपुर) अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ।
प्रहरी निरीक्षक शाहका अनुसार लगातारको वर्षाले खोला बढेको कारण एकैपटक सबै जना तर्न नसकी पालैपालो खोला पार गर्ने क्रममा दुर्घटना भएको हो। हाल उद्धार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
