विद्युत् र टेलिफोन, इन्टरनेट नआएमा निम्न नम्बरमा सम्पर्क गर्न सकिने
काठमाडौं । जोखिम बढेको अवस्थामा नेपाल विद्युत प्राधिकरणले उपभोक्तालाई सतर्क रहन र विद्युत आपूर्तिमा समस्या आए तुरुन्त ११५० नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभागले आजदेखि २० गतेसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा र विपद्को सम्भावना रहेको चेतावनी जारी गरेपछि प्राधिकरणले शनिबार सार्वजनिक विज्ञप्ति जारी गर्दै विशेष सतर्कता अपनाउन अनुरोध गरेको हो।
प्राधिकरणका प्रवक्ता राजन ढकालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “विद्युतीय संरचनामा क्षति पुग्न नदिन, सुरक्षित स्थानमा रहन र आकस्मिक अवस्थामा बाहेक बाहिर ननिस्कन सबैमा अनुरोध गरिएको छ। विद्युत अवरुद्ध भएमा वा संरचनामा क्षति पुगेमा तुरुन्तै ११५० हटलाइन वा स्थानीय नो-लाईट नम्बरमा सम्पर्क गरी जानकारी दिनुहोस्।”
सरकारले विपद्को समयमा सञ्चार सेवाको निरन्तरताको लागि सम्पर्क नम्बर सार्वजनिक गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलको उपस्थितिमा आज सञ्चार मन्त्रालय र आवद्ध निकायका प्रतिनिधिहरूबिच भएको छलफलले सञ्चार सेवा विच्छेद हुन नदिन र विच्छेद भएमा तत्कालै सुरु गराउने निर्णयसहित नम्बर सार्वजनिक गरेको हो ।
विपद्को यस कठिन घडीमा सञ्चारका साधनहरूलाई अवरुद्ध हुन नदिई सूचारु रूपमा सञ्चालन गरिरहन र नागरिकलाई विपद्को समयमा सही सूचना प्रवाह गर्न थप तदारुकताका साथ निरन्तर कार्य गर्ने गरी आवश्यक तयारी गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ । यसअनुसार कुनै पनि भूभागमा सञ्चार सेवा अवरुद्ध भएमा वा आकस्मिक सूचना प्रवाह गर्न तत्काल सम्पर्क गर्न सकिने नम्बर उपलब्ध गराइएको छ ।
नेपाल टेलिकमको सेवाका लागि १४९८ मा सम्पर्क गर्न सकिनेछ भने एनसेलको लागि ९००५, इन्टरनेट सेवा प्रदायक (ISPAN) सँग सम्बन्धित सेवाको लागि ९८०१८७८९४१, नेपाल दूरसञ्चर प्राधिकरणसँग सम्पर्कको लागि ९८५१०८७४३२ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सम्पर्क गर्नको लागि ९८४१३७६२०३, ९८४९०५३६६३ र ९८४१५२०११५ मा सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको छ ।
देशका धेरै भागमा अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको छ । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार अझै तीन दिनसम्म भारी वर्षा जारी रहने देखिएको छ । यस घडीमा नागरिकको जीवन र सुरक्षालाई प्राथमिकता दिँदै मन्त्रालयले सबैलाई सतर्क रहन आह्वान गरेको छ ।

