पहिरोबाट देशका विभिन्न स्थानका मुख्य राजमार्गहरू अवरुद्ध

काठमाडौं ।  अविरल वर्षा, बाढी र पहिरोका कारण कोशी र बागमती प्रदेशका विभिन्न स्थानमा मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्।

नेपाल प्रहरीले आज बिहान ७ बजेसम्मको अवस्थाबारे दिएको जानकारीअनुसार संखुवासभाको भोटखोला गाउँपालिका–४, बरुणमा निरन्तर वर्षाका कारण कोशी राजमार्ग अझै अवरुद्ध छ। संखुवासभाको मकालु गाउँपालिका–३, एकुवामा पनि लामो समयदेखि अवरुद्ध कोशी राजमार्ग सञ्चालनमा आउन सकेको छैन।

यसैगरी रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ मा नेपाल–चीन नाका जोड्ने पुल पूर्ण रुपमा अवरुद्ध छ। सोही गाउँपालिकामा आज बिहानदेखि पहिरोका कारण पासाङ ल्हामु सडक खण्ड बन्द भएको छ।

सिन्धुपाल्चोकको भोटकोशी गाउँपालिका–४, चारकिलो नजिकै आज बिहान गएको पहिरोले अरनिको राजमार्गमा पूर्ण अवरोध भएको छ। नेपाल प्रहरीले यात्रा गर्नुअघि सम्बन्धित सडकको अद्यावधिक जानकारी लिन आग्रह गरेको छ।

मुग्लिन-नारायणगढ सडक खण्ड एकतर्फी सञ्चालनमा

सडक डिभिजन भरतपुरले शनिवार बिहान एक सूचना जारी गर्दै मुग्लिन-नारायणगढ सडक खण्डमा पानी परिरहेको तथा तुईन खोला पुलनजिकै पहिरो जाँदा सवारी आवागमन एकतर्फी सञ्चालनमा रहेको जनाएको छ ।

बिहान ७ः१० जारी गरिएको सूचनामा अहिले पानी परिरहेको तथा उक्त सडक खण्डमा पहिरोको जोखिम कायमै रहेकाले जानकारी लिएर तथा सुरक्षा निकायको समन्वयमा मात्रै सावधानीपूर्वक सुरक्षित यात्रा गर्न सम्पूर्ण यात्रुहरूलाई अनुरोध गरेको छ ।

मुग्लिन-नागढुंगा सडक खण्ड अवरुद्ध

धादिङ प्रहरीले जनाएअनुसार मुग्लिन नागढुंगा सडक खण्डको जवाङ खोलानजिकै पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।

गए राति करिव ०२ः३० बजेको समयमा धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका जवाङ खोलास्थित पृथ्वी लोकमार्गमा सडक माथिबाट पहिरो खस्न जाँदा बाटो दुईतर्फ बन्द भएको भनि खबर प्राप्त हुना साथ उक्त स्थानमा प्रहरी चौकी जोगिमाराबाट प्रहरी हवल्दार पदम राना मगरको कमाण्डमा ट्राफिकसहितको टोलि खटि गएको छ । उक्त टोलीले बाटो खुलाउने पहल गरिरहेको छ । उक्त स्थान प्रहसी चौकी जोगिमाराबाट करिव छ किलोमिटर पश्चिममा रहेको छ ।

उक्त सडकखण्ड राति ०२ः४० बजे प्रहरी र यात्रुहरुको सहयोगमा एकतर्फी बाटो सुचारु भए पनि बिहान ०५ः५५ को समयमा पुनः सडक माथिबाट पहिरो खस्दा बाटो दुईतर्फी अवरुद्ध भएको हो । यसैबीच, अहिले बिहान ७ः४५ बजेको अपडेट अनुसार जवाङ खोलामा एकतर्फी यातायात सञ्चालनमा आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर