काठमाडौं उपत्यकामा ८ देखि १० घन्टा भारी वर्षाको सम्भावना

काठमाडौं । मौसमविद्हरूले बंगालको खाडीबाट आएको मौसमी प्रणालीका कारण काठमाडौं उपत्यकामा ८ देखि १० घन्टासम्म भारी वर्षा हुने सम्भावना औंल्याएका छन्। शनिबार अपराह्नदेखि वर्षा बढ्ने र बागमती, मधेस र कोशी प्रदेश प्रभावित हुनेछन्। बाढी र पहिरोको सम्भावना भएकाले यात्रा नगर्न सल्लाह दिइएको छ।

जल तथा मौसम विज्ञान विभागको राति यात्रा नगर्न आग्रह

जल तथा मौसम विज्ञान विभागले असोज २० गतेसम्म मुलुकका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाउँदै सचेत रहन सबैमा आग्रह गरेको छ ।

वर्षासँगै पहिरोको पनि जोखिम भएकाले विभागले राति यात्रा नगर्न आग्रह गरेको हो । सडक विभागले पनि राति यात्रा नगर्न सुझाउँदै मातहतका सम्पूर्ण कार्यालयका कर्मचारीलाई  विपद्प्रतिधार्यकार्यका निम्ति तयार रहन आह्वान गरेको छ ।

साथै विभागले नागढुङ्गा–मुग्लिन, मुग्लिन–नारायणगढ सडक, बिपी राजमार्ग, कान्ति लोकपथ, त्रिभुवन राजपथ, दाउन्ने सडकमा यात्रा गर्नेलाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ ।

हिमाली जिल्ला हुम्लाको उच्च क्षेत्रमा हिमपात सुरु

हिमाली जिल्ला हुम्लाको उच्च क्षेत्रमा हिमपात सुरु भएको छ । बिहीबार रातिबाट पानी पर्न सुरु भएपछि शु्क्रबार बिहानदेखि ती क्षेत्रमा हिमपात भएको हो ।

सदरमुकाम सिमकोटभन्दा माथिका उच्च डाँडा तथा हिमालहरुमा हिमपात भएको सिमकोट गाउँपालिका–२ का लोग भण्डारीले बताउनुभयो । सदरमुकाम सिमकोटको पश्चिमतर्फको बोक्सीडाँडा, पञ्चमुखी, रलिङ हिमालमा हिउँ परेपछि सेताम्मे देखिएका उहाँले बताउनुभयो ।

त्यसैगरी नाम्खा गाउँपालिका सबै वडाका उच्च क्षेत्रमा पनि हिमपात भएको वडा नम्बर ६ को वडा अध्यक्ष पाल्जोर तामाङले बताउनुभयो । बिशेषगरी नारा, न्यालु, लाप्चा क्षेत्रमा हिमपात भएपछि जमिन सेताम्मे देखिन थालेको छ । अब हिउद लाग्न सुरु भएको बताउदै उहाँले यस वर्षको पहिलो हिमपात सुरु भएको बताउनुभयो ।

जमिनमा चार इन्चीसम्म हिउँ जमेको बताउँदै मौसम सफा भए चाँडै सो हिउँ पग्लिने उहाँले बताउनुभयो । यो पछिल्लो वर्षाको पहिलो दिनमै हिमपात भएको छ । अग्ला डाँडा र हिमालमा हिमपात सुरु भएपछि चिसो बढेको छ ।

अरनिको राजमार्गसहित सिन्धुपाल्चोकका सबै राजमार्गमा रातिमा गाडी चलाउन रोक

अरनिको राजमार्गलगायत सिन्धुपाल्चोक जिल्लाभित्रका सबै मुख्य र सहायक राजमार्गमा राति गाडी चलाउन रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले आजदेखि २० गतेसम्म राति ७ बजेबाट बिहान ५ बजेसम्म दमकल, एम्बुलेन्सलगायतका अत्यावश्यकबाहेक सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाएको हो ।

यस अवधिमा वर्षाको मात्रा, क्षति र अन्य जोखिम विश्लेषण गरेर सुरक्षा निकायले अन्य समयमा पनि राजमार्ग आकस्मिक बन्द गर्न सक्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर