बडादशैँको टीका र जमरा लगाउने क्रम जारी

काठमाडौं । आज असोज १७ गते शुक्रवार अर्थात बडादशैँको टीकाको दोस्रो दिन टीका लगाउनेको क्रम बिहानैदेखि प्रारम्भ भएको छ ।

विजय दशमीका दिन नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएपछि आज एकादशीको दिन पनि आफन्तकहाँ गएर टीका लगाउनेहरुको चहलपहल छ ।

दशैँ घर अथवा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद विजया दशमीको दिन अर्थात हिजो बिहीवार लगाएपछि आज शुक्रवार आफन्तकामा जानेहरुका कारण सडकमा चहलपहल बढेको छ ।

यसका साथै आज काठमाडौंका सार्वजनिक सवारीसाधनको संख्या पनि बढेको छ । आज बिहानैदेखि बस, माइक्रो बस, टेम्पो आदि सार्वजनिक सवारीसाधनहरु चल्न थालेका छन् । यसअघि महाअष्टमीको दिनदेखि काठमाडौं सार्वजनिक सवारी साधनहरु पातलिएका थिए । हरेक वर्ष घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ।

आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापेर मनाइएको हो । बिहीवार टीका लगाउन नभ्याउनेले कोजाग्रत पूर्णिमाका अवसरमा अखिल बलि पूर्ति नभएसम्म अर्थात शुक्रवार, शनिवार तथा आइतवारसम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर