जेनजी आन्दोलनका शहीदको घरमा प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधान्मन्त्री सुशीला कार्कीले जेन्जी आन्दोलनका क्रममा ज्यान गुमाएका परिवारका सदस्यहरुसँग आज घरमै पुगेर भेटघाट तथा सान्त्वना दिनुभएको छ । मृतक परिवारका सदस्यको घरमै गएर उहाँहरुसँग भेट गर्नुभएको हो ।

काठमाडौं महानगरपालिका -१६, वनस्थलीस्थित सौरभकुमार श्रेष्ठ, नागार्जुन -३, स्वयम्भूस्थित कान्छी नगरकोटी र कीर्तिपुर -२, मैत्रीनगरस्थित बुद्धिबहादुर तामाङको घरमा पुगेर प्रधानमन्त्री कार्कीले परिवारका सदस्यहरुसँग भेट गरी सान्त्वना दिनुभएको छ । भेटको क्रममा उहाँले जेनजी आन्दोलनमा ज्यान गुमाएका शहीदको सपना पूरा गर्न आफूहरु लागिपरेको र सपनालाई खेर जान नदिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

पीडित परिवारका सदस्यको समस्या रेखदेखमा सरकारले ख्याल गर्ने भन्नुहुँदै उहाँले कुनै समस्या परे सरकारलाई खवर गर्न समेत आग्रह गर्नुभएको छ । प्रधानमन्त्री कार्कीको साथमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले समेत मृतकका परिवारका सदस्यहरुसँग भेट गर्नुभएको छ ।

सो अवसरमा प्रधानमन्त्री कार्की र सञ्चारमन्त्री खरेलले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै तस्बिरमा माल्यार्पण गनुृभएको थियो । परिवारका सदस्यहरुले प्रधानमन्त्री कार्की र सञ्चारमन्त्री खरेललाई आफ्नो समस्याबारे जानकारी गराउनुभएको थियो । प्रधानमन्त्री स्वयम् घरमै आएर समस्याबारे जानकारी लिनुभएपछि परिवारका सदस्यहरुले केही राहत महसुस भएको बताएका छन् । सरकार भएको अनुभूति आफूहरुलाई भएको परिवारका सदस्यहरुको प्रतिक्रिया रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर