दशैंपछि ओली र लेखकलाई आयोगले बयानका लागि बोलाउने तयारी

काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको मानवीय तथा भौतिक क्षतिको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकसहितका उच्च अधिकारीहरूलाई अनुसन्धानको दायरामा ल्याउन दशैंलगत्तै आयोगमा बोलाएर बयान लिने तयारी गरिएको छ ।
अस्ति आइतबार बसेको आयोगको बैठकले पूर्वप्रधानमन्त्री ओली र गृहमन्त्री लेखकका साथै पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख हुतराज थापा र काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको राहदानी रोक्का गर्ने निर्णय गरेको थियो । आयोगले उनीहरूलाई काठमाडौँ उपत्यका छाड्नुअघि आयोगको अनुमति अनिवार्य लिनुपर्ने निर्देशन पनि दिएको छ ।
आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘भाद्र २३ र २४ गतेका घटनाहरूको छानबिन तथा जाँचबुझको सिलसिलामा तपसिल बमोजिमका व्यक्तिहरू अनुसन्धानको दायरामा रहेको हुँदा निजहरूको विदेश भ्रमणमा रोक लगाउन आवश्यक कारबाही गर्नुहुन तथा छानबिनका लागि कुनै पनि समयमा आयोगमा उपस्थित हुनुपर्ने हुँदा आयोगको स्वीकृतिबेगर काठमाडौँ उपत्यका छाड्न नपाउने व्यवस्था गर्न गराउनका लागि सम्बन्धित निकायमा पत्राचार गर्ने ।’
आयोगका सदस्य विज्ञानराज शर्माका अनुसार पूर्वप्रधानमन्त्री ओलीसहितका पदाधिकारीहरू अनुसन्धानको दायरामा रहेकाले अब दशैं बिदाका कारण प्रक्रिया मिलाएर उनीहरूसँग बयान लिने काम अघि बढ्नेछ । जेनजी आन्दोलनपश्चात् पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको गैरदलीय सरकार गठन भएसँगै पूर्वन्यायाधीश कार्कीको संयोजकत्वमा घटनाको जाँचबुझ गर्न तीन सदस्यीय आयोग गठन भएको थियो ।