कार्की आयोगले छिट्टै दोषी नेताहरूसँग बयान लिने तयारी
काठमाडौं । जेन-जी आन्दोलनका क्रममा भएका घटनाको छानबिन गर्दै जाँदा संलग्न देखिएमा त्यस्ता व्यक्तिको पासपोर्ट रोक्का र विदेश भ्रमणमा रोक लगाउने उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगले जनाएको छ ।
आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले घटनामा संलग्न भएको आशंका भएका र केही प्राथमिक रुपमा प्राप्त प्रमाणका आधारमा यस्तो निर्णय हुने बताए । “३ महिनाको म्यान्डेट प्राप्त भएको आयोगले मुद्दा चलाउँदै दोषीलाई कारबाही सिफारिस गर्नेछ”, उनले भने ।
यसअघिका छानबिन आयोग मल्लिक आयोग र रायमाझी आयोगको प्रतिवेदन कार्यान्वयन नभएको भन्दै उनले अहिलेको प्रतिवेदन गोप्य पनि नरहने र दोषीलाई कारबाही पनि हुने दाबी गरे । “यो आयोग गठन हुँदा नै मैले सरकारसँग दुईवटा कुरा प्रस्ट सँग राखेको छु”, कार्कीले भने, एक, यो आयोगको प्रतिवेदन कार्यान्वयन हुनुपर्ने र दोस्रो आयोगको प्रतिवेदन गोप्य राख्न नपाइने । आयोगको प्रतिवेदन गोप्य राख्ने काम भयो भने आफैले सार्वजनिक गर्ने कार्कीले स्पष्ट पारे ।
उनले सरकारमा रहेका र सत्ता गठनबन्धनमा रहेका सबै नेतामाथि अनुसन्धान हुने दाबी गरे । सुरुमा फिल्डमा खटिएका प्रहरी, त्यसपछि आदेश दिने अनि सरकारमा रहेकाहरुलाई क्रमश: बयानमा बोलाउने उनको भनाइ छ । यसरी आयोगले छानबिन गर्दा कुनै पनि पूर्वाग्रह वा हस्तक्षेप नगर्ने उनले दाबी गरे ।
