दसैंमा नागढुङ्गा सुरुङमार्गबाट यात्रुवाहक गाडी बाहिरिन पाउने

काठमाडौं । सरकारले दसैँ अवधिभर काठमाडौं उपत्यकाबाट बाहिरिने सार्वजनिक यात्रुवाहक गाडीलाई नागढुङ्गा–सिस्नेरी–सुरुङमार्गबाट बाहिर जाने व्यवस्था गर्ने भएको छ । आज भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको अध्यक्षतामा बसेको बैठकले दसैँअघि सुरुङमार्गबाट बाहिरिन र दसैँपछि फर्कनेहरुलाई सुरुङमार्गबाट भित्रने दिने निर्णय गरेको हो ।
यस्तै बैठकले बुटवल–नारायणघाट सडकको दाउन्ने खण्डमा दसैँ अवधिभर ठूला भारवहन अर्थात् १२ चक्के र त्योभन्दा माथिका गाडी सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ । तर खाद्यान्नलगायतका अत्यावश्यक सामग्री ढुवानी गर्ने गाडी भने चल्न पाउने छन् ।
बैठकमा मन्त्री घिसिङले देशभरका मुख्य सडकहरुलाई चुस्त–दुरुस्त राख्न र सुधार गर्न निर्देशन दिएको छ । मन्त्री घिसिङले चौबिसै घण्टा यात्रुलाई सडक अवस्थाबारे जानकारी दिन र गुनासो सुन्न तथा त्यसको व्यवस्थापनका लागि पनि निर्देशन दिए । बैठकले आम नागरिकहरुलाई मौसम र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न हुन अनुरोध गर्दै सार्वजनिक सूचना जारी गर्ने निर्णयसमेत भएको छ ।