पहिरोका कारण ५१ दिनदेखि तातोपानी नाका सडक बन्द

काठमाडौं ।  बाह्रबिसे–कोदारी लोकमार्गअन्तर्गत कोदारीस्थित इको पहिरोका कारण ५१ दिनदेखि तातोपानी नाका सडक बन्द रहेको छ । उक्त सडकखण्ड बन्द भएदेखि मालबाहक कन्टेनरदेखि सबै प्रकारका सवारीसाधान पूर्ण रुपमा ठप्प भएको छ ।

इको पहिरोले कोदारी सडकखण्ड बन्द भएपछि तातोपानी भन्सार जाँचपासका लागि आउन लागेका एक हजार पाँच सयभन्दा बढी मालबस्तु बोकेका कन्टेनरहरु चिनियाँ क्षेत्रमा रोकिएका छन् । उक्त कन्टेनरहरुले अर्बौंको सामान बोकेका छन् । विशेषत चाडपर्वका सामान बोकेका कन्टेनर डेढ महिनाभन्दा बढी चिनियाँ क्षेत्रमा रोकिदाँ व्यापारीहरुले मारमा परिरहेका छन् ।

चीनको न्यालम, ढिंगे्र, खासा, जाङ्बुपोर्ट, सिगात्से लगायतका चिनियाँ क्षेत्रमा मालबस्तु बोकेका कन्टेनरहरु रोकिएका छन् । मँहगो शुल्क तिरेर कन्टेनरहरु चिनियाँ क्षेत्रका गोदाम राख्नु परेको व्यापारीहरुले जनाएका छन् । साथै नेपालतर्फ मितेरीपुल क्षेत्र, पुरानो भन्सार कार्यालय प्राङगण, लिपिङबजार, कोदारी बजारमा मालबस्तु बोकेका कन्टेनर रोकिएका छन् । फलफुलजन्य, मसलाजन्य बस्तु बोकेका कन्टेनरका सामान मजदुरलाई बोकाएर इको पहिरो तारिँदै आएको छ ।

इको पहिरोले यति लामो समयसम्म तातोपानी नाका सडक बन्द हुदाँ राज्यले अरबौं राजश्व घाटा व्यहोर्नु परेको छ । भन्सार भई काठमाडौँ जान लागेका कन्टेनरहरु पनि इको पहिरोले राजधानी पुग्न पाएको छैन । सङ्घीय सरकारका भौतिक पूर्वाधार तथा यातयातमन्त्री कुलमान घिसिङको निर्देशनमा बिहीबार सडक विभागका महानिर्देशक डा.बिजय जैसी, उपमहानिर्देशक प्रभातकुमार झा, पहिरो बिशेषज्ञ मधुसुधन आचार्य, उदयराज न्यौपाने, शुभराज न्यौपाने लगायतका सरकारी टोलीले इको पहिरो, डाक्लाङ पहिरो लगायतका पहिरो स्थलगत निरीक्षण गरेको थियो ।

उक्त निरीक्षण टोलीले इको पहिरोलाई एक साताभित्र एकतर्फी रुपमा सञ्चालनमा ल्याइने जनाकारी दिनुभएको छ । भोटेकोशी नदीको कटान र सडकमाथिको कमेरो लेदो माटो बगिरहेका कारण इको पहिरो निरन्तर झरिरहेको छ । यस्तो अवस्थामा सडक एकतर्फी सञ्चालनमा ल्याइदा पहिरोमाथिको सयभन्दा बढी घर पहिरोले तान्ने निश्चित छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर