झलनाथकी पत्नी रविलक्ष्मीको शल्यक्रिया गर्ने तयारी

काठमाडौं । कीर्तिपुर वर्न अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको सोमबार शल्यक्रिया हुने भएको छ ।
कीर्तिपुर वर्न अस्पतालका मेडिकल डाइरेक्टर डा. निजिना ताम्राकारले घाइते चित्रकारको सोमबार शल्यक्रिया गर्ने तयारी गरेको जानकारी दिइन् । अस्पतालमा ल्याइपुर्याइएको अवस्थाभन्दा उनको स्वास्थ्यमा केही सुधार आएको भए पनि खतरामुक्त हुन नसकेको डा. ताम्राकारको भनाइ छ ।
उनी भन्छिन्, “आज दिनभर उहाँको स्वास्थ्य अवस्था हेरेर भोलि शल्यक्रिया गर्ने योजना छ ।” हाल उनको आइसियूमा उपचार भइरहेको छ ।
डा. ताम्राकारका अनुसार वर्न केसमा अस्पताल आएको चार पाँच दिनपछि मात्र समस्या देखिन्छ । उनी भन्छिन्, “वर्न केस अरू केस जस्तो हुँदैन । अस्पतालमा ल्याएको चार–पाँच दिनपछि मात्र गम्भीर समस्या देखिने हुँदा बिरामीको बारेमा केही भन्न सकिदैँन ।”
भदौ २४ गते भएको हिंसात्मक प्रदर्शनका क्रममा आन्दोलनकारीले डल्लुस्थित उनका पति झलनाथ खनालको घरमा आगो लगाउँदा समयमै बाहिर निस्किन नसक्दा उनी जलेकी थिइन् । आन्दोलनका क्रममा आगजनीमा घाइते भएर आठ जना वर्न अस्पतालमा भर्ना गरिएकोमा ६ जना उपचाररत छन्। आन्दोलनका क्रममा आगजनीमा घाइते प्रायः श्वासप्रश्वाससम्बन्धी समस्या रहेको डा. ताम्राकारको भनाइ छ ।