सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणबाहेकका सेवा स्थगित

काठमाडौं । जेनजीको आन्दोलनका क्रममा सर्वोच्च अदालतले आगजनी, तोडफोड र लुटपाटका कारण हालका लागि बन्दी प्रत्यक्षीकरण र अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा प्रवाह स्थगित गरेको छ ।
भदौ २४ गते सर्वोच्च अदालतमा भएको आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाटका कारण अदालतका अधिकांश भौतिक संरचना, इजलास, चालु मुद्दा, अभिलेख मिसिल तथा सूचना प्रविधि प्रणाली क्षतिग्रस्त भएपछि नियमित कामकाज अवरुद्ध भएको अदालतले जनाएको छ ।
अदालतले यसअघि प्रकाशित सूचनाअनुसार २९ भदौदेखि बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता र सुनुवाइ सुरु गर्ने निर्णय गरिसकेको थियो । तर अन्य सेवा भने तत्काल प्रवाह गर्न नसकिने सर्वोच्चले स्पष्ट पारेको छ ।
पूर्ण बैठकको निर्णय उद्धृत गर्दै सर्वोच्च अदालतले अर्को सूचना प्रकाशित नभएसम्मका लागि म्याद, हदम्याद र तारिख नगुज्रने व्यवस्था गरिएको जनाएको छ । साथै अदालत नियमित सञ्चालन भएको मितिले ३० दिनभित्र सम्पर्कमा आउन मुद्दाका पक्षलाई अनुरोध गरिएको छ ।