चार दिनसम्म जलिरह्यो सिंहदरबार

काठमाडौं ।  सधैँभरि भिडभाड देखिने सिंहदरबार परिसर शुक्रबार कार्यालय सञ्चालन हुने दिन भए पनि सुनशान देखियो।  शुक्रबार भएकाले अपराह्न ३ बजे कर्मचारीको छुट्ने समयमा तीनवटै प्रवेशद्वारमा सवारी चाप हुने गरेकामा आज त्यो देखिएन।

जेनजी प्रदर्शनबाट तोडफोड र आगजनी भएका विभिन्न मन्त्रालयका परिसरमा सवारीसाधन ‘भग्नावशेष’ का रूपमा रहेका छन्।  आफूले काम गर्दै आएको मन्त्रालय तथा कार्यालय आगजनीबाट ध्वस्त भएपछि कर्मचारीमा त्रास र निराशाको अवस्था देखिन्थ्यो।  राष्ट्रका सम्पत्ति, जलेका मन्त्रालयका भवन र सवारीसाधनको भग्नावशेष देखेर आफूहरूको मन कुँडिएको कर्मचारीको दुःखेसो थियो।

आगजनीबाट धेरै मन्त्रालयका सवारीसाधन नष्ट भएपछि माथिल्लो तहका कर्मचारीसमेत मोटरसाइकल र स्कुटरमा कार्यालय पुगेका थिए।  शिक्षा मन्त्रालयको भुँइतलामा रहेको राष्ट्रिय सतर्कता केन्द्रको आधा भाग जलेर नष्ट भएकाले भित्र प्रवेश गरी क्षतिको वास्तविक आँकडा यकिन गर्न कठिन भएको प्रवक्ता नारायणप्रसाद भट्टले बताउनुभयो।

मूल प्रशासनिक केन्द्रका रूपमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आगजनीका कारण क्षति भएपछि गृह मन्त्रालयको नवनिर्मित भवनमा सार्ने तयारी गरिएको छ।  त्यसका लागि कर्मचारीहरू बचेखुचेका कम्प्युटर, ल्यापटप, कागजातलगायत सामग्री सार्न व्यस्त देखिए।

सिंहदरबारको पश्चिम खण्डको मूलभागमा चार दिनदेखि सल्किरहेको धुवाँको मुस्लो निस्किरहेको थियो भने आगो नियन्त्रणका लागि वारुणयन्त्रले पानीको फोहोरा हानिरहेको थियो।  आगजनी गरिएका मन्त्रालयमा प्रवेश गर्न सुरक्षाका हिसाबले जोखिम देखिएपछि कर्मचारीहरू बाहिरै बसेर फर्किएका थिए।

गृह मन्त्रालयका एक कर्मचारीले भन्नुभयो, “निर्देशनानुसार मन्त्रालयमा उपस्थिति भइयो, पेटीमा बसेर हाजिर गरियो, मन्त्रालय ध्वस्त भएको छ, के कति क्षति भयो, यकिन हुन सकेको छैन। ” आगजनीबाट भएको क्षतिको पहिचान गर्ने, विवरण सङ्कलन तथा तथ्याङ्क बुझ्ने काम भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर