बिस्तारै पक्राउ पर्न थाले फरार कैदीबन्दी

काठमाडौं । सप्तरीको राजविराजमा रहेको कारागारबाट भाग्ने प्रयास गरिरहेका १ सय ९२ जना कैदीबन्दीलाई नेपाली सेनाले पक्राउ गरेको छ ।
यस्तै कञ्चनपुरको चाँदनीमा भारततर्फ जाँदै गरेका ७ जना कैदीलाई भारतीय सीमा सुरक्षा बलले समातेर नेपाली सेनालाई बुझाएको छ । १ जना कैदीलाई स्थानीय बासिन्दाले समातेर इलाका प्रहरी कार्यालयलाई बुझाएका छन् । कञ्चनपुर कारागारबाट भागेकामध्ये १२ जना कैदी आफैँ कारागारमा हाजिर भएका छन् ।
यस्तै रामेछापमा रहेको कारागारका कैदीहरूले बाहिर जान पाउनुपर्ने भन्दै गरेको झडपलाई नियन्त्रणमा लिनका लागि नेपाली सेनाले चलाएको गोली लाग्दा २ जना कैदीबन्दीको ज्यान गएको छ । १२ जना कैदी घाइते भएका छन् ।
अहिलेसम्म देशभरको कारागारबाट भागेकामध्ये १ हजार ४ सय ५५ जना कैदीबन्दी पक्राउ परेका छन् । अझै १२ हजार ८ सय ५२ जना कैदीबन्दी फरार छन् । त्यसैगरी प्रहरी हिरासतमा रहेका ५ सय ७३ थुनुवा फरार भएका छन् ।
यस्तै आन्दोलनका क्रममा लुटिएकामध्ये ९४ नाल हतियार बरामद गरेको सेनाले जनाएको छ । यसैबीच काभ्रेको बनेपा नगरपालिकामा फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाले सुरक्षित साथ डिस्पोज गरेको छ ।