सुशीला कि बालेन भनेर जंगी अड्डाभित्र जेनजी समूहबीच विवाद

काठमाडौं । सिंहदरवार, संसद भवन, सर्वोच्च अदालत, अख्तियार, टेलिकमलगायत राष्ट्रको प्रमुख निकायहरूको ध्वंशलीलापछि नेपाली सेना सडकमा उत्रिएपश्चात् आज बुधबार शान्त देखिएको नेपाली राजनीति फेरि अन्तरिम सरकार प्रमुखको नेतृत्वलाई लिएर विवादको भुँवरीमा फस्न सक्ने सम्भावना प्रवल बन्दै गएको आँकलन गरिएको छ ।
नेपाली सेनाले सेप्टेम्बर ८ का दिन आन्दोनल गर्ने घोषणा गरेका जेनजीका प्रतिनिधिलाई राजनीतिक वार्तामार्फत समस्याको समाधान खोज्ने आह्वान गरेपश्चात् हिजो मंगलबार अपराह्नदेखि सुरु भएको वार्ता प्रयासले आज बुधबार साँझसम्मको समय लिँदा अन्तरिम सरकार प्रमुखको नामलाई लिएर विवाद देखिएको हो । केही जेनजी समर्थित समूह नेपाली सेनासँग वार्ता गर्न आर्मी हेडक्वार्टरमा जाँदा सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम प्रस्ताव गरेका थिए । कार्कीको नाम प्रस्तावित हुँदा वार्तामा उपस्थित सैन्य अधिकारीहरूले सोचनीय भएको बताएको जेनजीका प्रतिनिधिहरूले बताएका छन् ।
आज बुधबार मध्याह्न जेनजीका प्रतिनिधि रक्षा बम नामक युवतीले अन्तरिम सरकार प्रमुखको नाम प्रस्ताव नगरिकन जंगी अड्डाबाट फर्किएर जेनजीको अहिलेको प्रख्यात सामाजिक प्लेटफर्म डिस्कर्डमा व्यापक छलफल चलाइएकी थिइन् । यस्तै जेनजीकी अर्की प्रतिनिधि तुलसा पाण्डेले पनि आर्मीसँग वार्ता हुँदा कसैको नाम नलिएको र लिन पनि नहुने, यो त छलफपछि टुंगो लाग्ने बीबीसी नेपाली न्युजलाई दिएको श्रब्य अन्तर्वार्तामा बताएकी थिइन् ।
जेनजीहरूबीच डिस्कर्डमा छलफल हुँदा सुशीला कार्कीको नाममा बहुमत देखिएको थियो । त्यसो त काठमाडौं महानगरपालिकाका वर्तमान मेयर बालेन साहको नाम पनि सँगसँगै उल्लेख भएको थियो, तर कार्कीको पक्षमा अत्यधिक समर्थन थियो । डिस्कर्डमा भएको छलफललाई आधार मानरे सुशीला कार्कीको नामको प्रस्ताव बोकेर गएका जेनजीका प्रतिनिधिहरू जंगी अड्डा पुग्दा कार्कीको नाममा सर्वसममत हुन सकेन । जंगी अड्डा परिसरमै कार्कीलाई नरुचाउने अर्को जेनजी समूहले बालेनलाई बनाउनुपर्ने भनी स्वर उठाएका थिए ।
जेनजीकै बीचमा विवाद देखिएपछि जंगी अड्डाका सैन्य अधिकारीले अड्डा परिसरभित्रै माइकिङ गरेर को–को हुनुहुन्छ ? नेतृत्वकर्ता ? कतिजना हुनुहुन्छ ? एक–एक जना ग्रुप लिडरको फोन नम्बर र नामसहित भोलि (बिहीबार) बिहान सम्पर्क गर्नुहोला भनेर जानकारी दिएपछि जेनजीका प्रतिनिधिहरू बुधबार साँझ आ–आफ्नो घर फर्केको बताइएको छ ।
अर्कोतिर बालेन साहले सुशीला कार्कीको नाममा समर्थन जनाएको बताइएता पनि यसको आधिकारिक पुष्टि भने जेनजी समूहले गरेको छैन । कार्की समर्थक समूहले सुशीलाको नेतृत्वले वर्तमान संवेदनशील र जटिल परिस्थितिमा कानून र विधिको राज स्थापना गर्न सघाउ पुग्ने विश्वास व्यक्त गरेका छन् ।