पछिल्लो छलफलमा सहमति जुटेन : जेनजी प्रतिनिधि रक्षा बम

काठमाडौं । नेपाली सेनाका प्रधान सेनापतिसँगको जेनजीका प्रतिनिधिको पछिल्लो छलफलमा सहमति नजुटेको बताइएको छ। प्रधान सेनापतिसँगको छलफलबाट बाहिर निस्केको भन्दै जेनजी प्रतिनिधि रक्षा बमले केही सैद्धान्तिक कुरा नमिलेको बताएकी छन्।
‘म आजको छलफलबाट बाहिर निस्किसकेँ है,’ उनले भनेकी छन्, ‘हाम्रो केही सैद्धान्तिक कुरा नमिलेपछि छलफलका क्रममा बाहिर निस्केको हुँ।’ यसअघि गए राति पनि उनै बमसहित जेन जीका ९ प्रतिनिधि र प्रधानसेनापतिबीच छलफल भएको बताइएको छ।
यसैबीच राष्ट्रपति र नेपाली सेनाले वार्ताका निम्ति आह्वान गरेसँगै तीन हजारभन्दा बढी ‘जेनजी’ पुस्ताका युवा ‘भर्चुअल’ छलफलमा जुटेका छन् । उनीहरूबीच आधिकारिक वार्तामा को सहभागी हुने र कुन विषयलाई प्राथमिकतामा राख्ने भन्नेबारे बहस भइरहेको छ ।
डिस्कर्डमार्फत चलिरहेको छलफलमा संलग्न एक युवाका अनुसार, संसद् विघटन हुनुपर्ने, आउँदो ६ महिना वा बढीमा एक वर्षभित्र आमनिर्वाचन गरिनुपर्ने प्रस्ताव अघि सारिएको छ ।