काठमाडौं उपत्यकामा आज मंगलबार बिहानैदेखि कर्फ्युृ
काठमाडौं । हिजो सोमवारको जेन जी प्रदर्शनमा कम्तीमा १९ जनाको ज्यान गएपछि कर्फ्यू आदेश जारी गरेको स्थानीय प्रशासनले मङ्गलवार पनि राजधानी उपत्यकाका तीनवटै जिल्ला र पूर्वी सहर इटहरीमा पनि कर्फ्यू आदेश जारी गरेको छ।
राजधानीका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले विभिन्न क्षेत्र तोकेर अनिश्चितकालीन कर्फ्यू आदेश जारी भएको जनाएका छन्।काठमाडौं जिल्ला प्रशासनले काठमाडौं महानगरपालिका चक्रपथ क्षेत्रभित्र बिहान ८ः३० बजेदेखि लागु हुने गरी उक्त आदेश जारी गरेको छ।
त्यसैगरी ललितपुर जिल्ला प्रशासनले समेत ललितपुर महानगरपालिकाका वडा नम्बर २, ४, ९, १८, २५ मा समेत बिहान ७ बजेदेखि मध्यरातसम्मका लागि कर्फ्यू आदेश जारी गरेको छ। ती भैँसेपाटी, इन्द्रायणि मार्ग आसपास र च्यासल क्षेत्र आसपास पर्छन्।
भक्तपुर जिल्ला प्रशासनले बिहान ८ः३० बजेदेखि लागु हुने गरी जडिबुटी- राधेराधे- बालकोट- निकोसेरा, पेप्सीकोला क्षेत्रभित्र अर्को आदेश नहुँदा सम्मका लागि कर्फ्यू लगाउने निर्णय गरेको जनाइएको छ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले इटहरी क्षेत्रमा सोमवार जारी गरेको अनिश्चितकालीन कर्फ्यू आदेश मङ्गलवार पनि कायम छ। इटहरी उपमहानगरपालिका भित्रका केही क्षेत्रमा भेला, जुलुस, प्रदर्शन, सभा, बैठक र घेराउ गर्न नपाउने गरी अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरेका छन्।



