प्रधानमन्त्री ओलीमाथि राजीनामा दिन चौतर्फी दबाब

काठमाडौं ।  संघीय राजधानी काठमाडौंसहित देशव्यापी जेनजीको ठेग्न नसकिने गरी प्रदर्शन चर्किएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको माग चौतर्फी रूपमा उठेको छ । आन्दोलनकारी, अधिकारकर्मीसहित राजनीतिक दलहरूले समेत प्रधानमन्त्री ओलीले घटनाको नैतिक जिम्मेवारी लिँदै राजीनामा गन पर्ने माग गरेका छन् । उनीहरूले गृहमन्त्रीको राजीनामा अर्पयाप्त भएको बताएका छन् ।

सत्तारुढ नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज मंगलबार बिहान बोलाएको छ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बोलाइएको बैठकमा केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी एवं सदस्यहरू सहभागी हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । हिजो सोमबार साँझ बसेको कांग्रेस पदाधिकारी बैठकमा सहभागी भएका गृहमन्त्री रमेश लेखकले घटनाको नैतिक जिम्मेवारी लिँदै राजीनामा गर्ने बैठकमा जानकारी गराएका थिए ।

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले ‘जेनजी’ आन्दोलनमा भएको हत्या र दमनको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने बताएका छन् । ओलीको अहंकार र अधिनायकवादी चरित्रका कारण घटना भएकाले त्यसको सम्पूर्ण जिम्मेवारी उनैको हुने पुनले बताए । ओलीले नैतिकताका आधारमा तत्काल राजीनामा दिनुपर्ने उनको माग छ ।

‘जेनजी पुस्ताको आन्दोलनमा भएको बल प्रयोग र हत्याको जिम्मेवारी प्रधानमन्त्री केपी ओली र उनको नेतृत्वमा रहेको नालायक सरकारले लिनुपर्छ’, पुनले भने, ‘यो परिस्थिति उत्पन्न हुनुमा ओलीको अभिनायकवादी, निरंकुश र स्वेच्छाचारी प्रवृत्ति जिम्मेवार छ, घटनाले ओलीको असली चरित्र उदांगो पारेको छ, पदमा बस्ने नैतिकता गुमाएकाले उनले तत्काल राजीनामा दिनुपर्छ ।’ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ओली नेतृत्वको सरकार तत्काल विघटन गर्नुपर्ने माग गरेको छ ।

हिजो सोमबार भएको जेनजीहरूको प्रदर्शनपछि बसेको आकस्मिक पदाधिकारी बैठकले वर्तमान सरकारको उपदेयता सकिएको निष्कर्ष निकाल्दै सरकार विघटन गर्न माग गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए ।

शान्तिपूर्ण प्रदर्शनमाथिको जंगली रवैयाबाट सरकारको स्वेच्छाचारी, अलोकतान्त्रिक र सर्वसत्तावादी चरित्र उदांगो भएको राप्रपाले जनाएको छ । ‘आजको बर्बर दमनपूर्ण घटनालाई राप्रपाले नेपाली इतिहासकै क्रुर र दुःखद घटनाका रूपमा लिएको छ,’ राप्रपाले भनेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर