बागमती र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा छ। साथै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य बदली रहनेछ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान र अन्य प्रदेशका तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। बागमती र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। मधेसलगायत कोशी र लुम्बिनी प्रदेशका तराई भूभागमा हुरीबतासको पनि सम्भावना छ।
त्यसैगरी, आज राति मधेस, कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भूभागका केही स्थान र बाँकी तराई भूभागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ। गण्डकी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।