प्रधानमन्त्री ओली भारत अघि चीन भ्रमणमा जाने तय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारतको औपचारिक भ्रमणमा जानुभन्दा पहिला चीन जाने भएको छ । भारतको औपचारिक भ्रमणका लागि भारतीय समकक्षी नरेन्द्र मोदीको निम्तो प्राप्त भए पनि भ्रमणको मिति तय भइनसकेको अवस्थामा प्रधानमन्त्री ओली चीनमा आयोजना हुने एक बैठकमा सहभागी हुन जानुहुने सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
सिंहदरबारस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बुधबार मन्त्रीपरिषद् बैठकको भदौ २ गतेका निर्णय सार्वजनिक गर्ने क्रममा प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे सञ्चारकर्मीको जिज्ञासामा मन्त्री गुरुङले सो जानकारी दिएको हो ।
साङ्घाई को-अपरेसन अर्गनाइजेसन (एससीओ) को आयोजनामा चीनमा हुने बैठकमा प्रधानमन्त्री ओलीलाई चीन सरकारका तर्फबाट निम्तो रहेको जानकारी दिँदै मन्त्री गुरुङले सम्भवतः भारत भ्रमणभन्दा अघि चीनमा आयोजना हुने सो बैठकमा प्रधानमन्त्री सहभागी हुनुहुने बताए । प्रवक्ता गुरुङले भने, “तर त्यो कार्यक्रम मन्त्रीपरिषद्मा पेस भएर को-को जाने ? कति जना जाने भन्ने निर्णय गरिनसकेको जानकारी गराउन चाहन्छु ।”