अरूले सिक्सजी सुरु गर्दा हामी फाइबजी सुरु गर्दैछौं : सञ्चारमन्त्री

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अबको पाँच महिनाभित्र फाइब जी (५ जी) सेवा सुचारु गर्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफूले कार्य सम्झौतामा सो विषय उल्लेख गरेकाले कार्यान्वयन गर्ने उनको दृढोक्ति थियो ।

तामाङ पत्रकार सङ्घको ३१ औं प्रसारण दिवसको अवसरमा आइतबार यहाँ आयोजित कार्यक्रममा उनले काठमाडौं उपत्यका र पोखरामा पहिलो पटक फाइबजी सेवा सुरु गर्ने प्रष्ट पारे । प्रविधिमा अन्य मुलुकले धेरै फड्को मारेकाले नेपालमा फाइबजी सेवा सुरु गर्दा अन्य मुलुकले ६ जी सेवा सुरु गरिसक्ने उनले बताए ।

नेपाल टेलिभिजन र रेडियो नेपाललाई सरकारप्रति जिम्मेवारभन्दा पनि जनताप्रति जिम्मेवार बनाउन सार्वजनिक सेवा प्रसारण (पिएसबी) को रुपमा सञ्चालन गरिएको उनले बताए । गोरखापत्र संस्थान र राष्ट्रिय समाचार समिति (रासस) को पुराना ऐनको ठाउँमा नयाँ ऐन निर्माण गरी संरचनागत सुधारको प्रयासमा मन्त्रालय लागेको उनले जानकारी दिए ।

अर्को प्रसङ्गमा सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले भने,“मिडिया काउन्सिललाई सरकारले स्वायत्त बनाउनेमा ध्याउन्न दिएको छ । काउन्सिलको अध्यक्ष सरकारले नियुक्त गर्ने प्रावधान रहे पनि निर्णय प्रक्रियामा काउन्सिलले स्वायत्त भएर काम गर्नेछ।”

सञ्चार मन्त्रालय समावेशीको मुद्दामा सबैभन्दा समावेशी चरित्रको भएको बताउँदै उनले गोरखापत्रमा ४५ विभिन्न भाषाका पृष्ठ प्रकाशन, रेडियो नेपालमा २६ भाषाका समाचार बुलेटिन प्रसारण भइरहेको बताए । सरकारबाट सबैभन्दा उपेक्षामा रहेको हुलाक सेवा र कारागार (जेल) लाई समेत पुनः संरचनाको प्रयास सरकारले गरिरहेको उनले बताए ।

साइबर क्राइमका घटना धेरै बढेकाले साइबर सेक्युरिटी विधेयक संसदमा छलफलमा रहेको बताउँदै उनले सामाजिक सञ्जाललाई समेत नियमन गर्नेगरी विधेयक आउने जानकारी दिए । सुरक्षण मुद्रणको कामलाई व्यवस्थित गरी आगामी वर्षदेखि नेपालमै पासपोर्ट छपाइ, लाइसेन्सलगायतका छपाइको काम गरिने उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर