अवरुद्ध मुग्लिन–नारायणगढ सडक खण्ड सञ्चालनमा

काठमाडौं । पहिरो खसेर अवरुद्ध मुग्लिन–नारायणगढ सडक खण्ड फेरि सञ्चालनमा आएको छ । इच्छा कामना गाउँपालिका–५ तुइँनखोला नजिक आज बिहान खसेको पहिरोका कारण सडक अवरुद्ध भए पनि दिउँसो दुवैतर्फ यातायात पूर्ण रूपमा सुचारु भएको छ ।
आज आइतबार बिहान ४ः२० बजे खसेको पहिरो पन्छाएसँगै बिहान ८ बजेदेखि यातायात सञ्चालनमा आएको थियो । तर, करिब ९ः३० बजे सोही स्थानमा पुनः पहिरो खस्दा सडक फेरि बन्द भएको थियो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार दिउँसो १२ः५५ बजे बाटो दुवैतर्फ खुलाइसकिएको छ । “पहिरो पन्छाउने काम सकिएको छ, अहिले बाटो सुचारु भएको छ”, उनले जानकारी दिए । लगातारको वर्षासँगै सो सडक खण्डमा बारम्बार पहिरो खस्ने क्रम नरोकिएपछि प्रहरी प्रशासनले यात्रुलाई सचेत रहन र आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।