नारायणगढ–मुग्लिन सडकखण्डमा पुनः पहिरो

काठमाडौं ।  नारायणगढ–मुग्लिन सडकखण्डमा पुनः पहिरो खसेको छ । इच्छाकामना गाउँपालिका–५ तुइँनखोला नजिकै आज बिहान ९ः३० बजे आसपासमा पहिरो खस्दा पूर्ण रुपमा अवरुद्ध भएको हो । आज बिहान ४ः२० बजे खसेको पहिरो पन्छाएसँगै बिहान ८ बजेदेखि सडकमा यातायात सञ्चालनमा आएको थियो ।

त्यसलगत्तै सोही स्थानमा फेरि पहिरो खस्दा यातायात सञ्चालन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए । अहिले पहिरो पन्छाउने काम भइरहेको उनको भनाइ छ ।

यसैगरी, पहिरोका कारण कर्णाली राजमार्गको कालीकोट सडकखण्डका ठाउँठाउँमा यातायात अवरुद्ध भएको छ । शनिबार रातिदेखि परेको वर्षाका कारण पहिरो खस्दा यातायात अवरुद्ध भएको हो ।

कर्णाली राजमार्गको कालीकोटको गगने खोला, बिहानी, दैलेखको खिड्की ज्यूला, जुम्ला र कालीकोटको सिमाना नाग्मा नजिकै सिञ्जा हुँदै मुगु जाने सडकमा पहिरो खस्दा यातायात अवरुद्ध भएको कालीकोटका प्रहरी प्रमुख टेकबहादुर रावतले जानकारी दिए ।

उनका अनुसार दैलेखमा शनिबार साँझदेखि नै यातायात अवरुद्ध छ भने कालीकोटको गगने र बिहानीको पहिरो हटाउने काम भइरहेको छ । रातिदेखिको अविरल वर्षाले कर्णाली करिडोरअन्तर्गत पर्ने रास्कोट र पचाल झरनाको बीचमा पर्ने फुगाड खोला बढेकाले मोटरसाइकल र साना गाडी तर्न सकेका छैनन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर