कोदारी राजमार्ग अवरुद्ध हुँदा ६ सय कन्टेनर रोकिए

काठमाडौं । पहिरोका कारण कोदारी राजमार्ग अवरुद्ध हुँदा नेपाल-चीन सीमाको मितेरी पुलपारि करिब ६ सय कन्टेनर रोकिएका छन्। सागसब्जी र फलफूल बोकेका ती कन्टेनर १२ दिनदेखि रोकिएका हुन्।
नेपाल ट्रक कन्टेनर ढुवानी सेवाका अध्यक्ष अर्जुन सापकोटाले दिएको जानकारीअनुसार, भोटेकोशी गाउँपालिका–२, इकुमा लेदोसहितको पहिरो खसेका कारण सवारी साधन मात्रै नभई पैदल यात्रा गर्न पनि कठिन भएको छ। करिब २ किलोमिटर क्षेत्र पहिरोले ढाकेको छ।
अहिले कन्टेनरका सामान भरियालाई बोकाएर पहिरो पार गराउन थालिएको छ। अध्यक्ष सापकोटाले पहिरो पन्छाउन सरकारी स्तरबाट पहल नभएको गुनासो व्यक्त गरेका छन्। यसै सन्दर्भमा, चरिकोटस्थित सडक डिभिजन कार्यालयका प्रमुख अमितकुमार श्रेष्ठले लेदो बग्न रोकिएलगत्तै भारी उपकरण प्रयोग गरेर बाटो खुलाउने प्रतिबद्धता जनाएका छन्। (तस्बिरः फाइल)