विभिन्न ठाउँमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं । गएराती परेको वर्षाका कारण पृथ्वी राजमार्गका ठाउँठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । गजुरी गाउँपालिकास्थित जहरे खेत भन्ने स्थान नजिकै खसेको पहिरोले अहिले दुबैतर्फ राजमार्ग ठप्प भएको छ ।

पहिरो पन्छाई सवारी सञ्चालनका लागि प्रयास भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङका प्रमुख सुरज श्रोष्ठले जानकारी दिए । पहिरो आसपासका क्षेत्रहरुमा सवारीसाधन जाम हुन नदिन प्रहरीले ठाउँठाउँमा रोकेर राखेका छन् ।

अवरुद्ध राजमार्गका कारण संघीय राजधानीबाट बिहान बाहिरिएका सवारीकासाधन र राजधानी प्रवेशका लागि आएका रात्री बसहरु सडकमै रोकिएका छन् । पानी परिरहेको र पहिरो विस्तारै बगेका कारण पहिरो पन्छाउन कठिनाई भएको प्रहरीले जनाएको छ ।

जहरे खेतको पहिरो पन्छाउन मात्रै करिब तीन घण्टा लाग्ने अनुमान प्रहरी गरेको छ । योसँगै वर्षाका कारण पृथ्वी राजमार्गको ठाउँठाउँमा सडक एकातर्फ मात्रै सञ्चालनमा रहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर