देशभर विभिन्न स्थानमा पानी पर्ने तथा केही ठाउँमा ठूलो वर्षा हुने सम्भावना

काठमाडौं । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतर्फ नेपालको तराईनजिक रहेकाले देशभर मनसुन सक्रिय छ। यसैकारण मौसम बदली र वर्षा हुने क्रम ह्वात्तै बढेको हो।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले आज सोमबार दिउँसो र राति पनि देशभर विभिन्न स्थानमा पानी पर्ने तथा केही ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेको जनाएको छ। महाशाखाले आज बिहान जारी गरेको बुलेटिनअनुसार आज दिउँसो देशभर साधारणतया बदली (आकाशभरि बादल) रहने छ। सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन–चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
यस्तै महाशाखाका अनुसार आज राति देशभर साधारणतया बदली रहने छ। कोशी प्रदेश, मधेस प्रदेश, गण्डकी प्रदेशका र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ।