गुण्डागर्दीमा संलग्न रहेको आरोपमा सानुभाइ ठमेलबाट पक्राउ

काठमाडौं । काठमाडौंको ठमेल र आसपासमा गुण्डागर्दीमा संलग्न रहँदै आएका युवराज गुरुङ उर्फ ‘सानुभाइ’ लाई प्रहरीले पक्राउ गरेको छ । उनलाई बुधबार राति ठमेलस्थित नगरकोट दोहोरी साँझमा भएको कुटपिट तथा झगडाको घटनामा संलग्न भएको आरोपमा नियन्त्रणमा लिएको हो ।
उनी पटक-पटक आपराधिक गतिविधिमा संलग्न हुँदै पक्राउ पर्ने र छुट्ने गर्दै आएका छन् । यसअघि पनि उनलाई ठमेलकै एक क्लबका बाउन्सर र सञ्चालकमाथि साङ्घातिक हमला गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको थियो । त्यसबेला मिडियामा प्रमाणसहित समाचार आएपछि बढेको दबाबका कारण पक्राउ परेका उनलाई प्रहरीले हतकडीसहित थुनुवा पोशाकमै ठमेल घुमाएर आपराधिक मनोवृत्तिलाई निरुत्साहित गर्ने प्रयास गरेको थियो ।
सानुभाइ प्रहरी इन्काउन्टरमा मारिएका अर्का गुण्डा नाइके कुमार घैंटे समूहका सक्रिय सदस्य थिए । पक्राउमा परेका गुरुङमाथि थप अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।