देशका पहाडी भू-भागमा साधारणतया बदली रहने

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।
आज शनिबार दिउँसो देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। बागमती प्रदेश, गणडकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको तराई र मधेश प्रदेशका केही स्थानहरूमा हावाहुरी चल्ने सम्भावना रहेको छ।
यस्तै आज शनिबार दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
काठमाडौं उपत्यका वर्षा, राहत महसुस
केही समययता गर्मी महसुस गरिरहेको काठमाडौं उपत्यकालगायत केही जिल्लामा आज साँझ परेको वर्षाले शीतल हुँदा केही राहत महसुस भएको छ । काठमाडौँ उपत्यकामा आज मध्यम वर्षा भएको छ ।
पछिल्लो ६ घण्टामा देशका केही ठाउँमा भारी वर्षा समेत भएको छ । तराईलगायत क्षेत्र सुक्खा हुँदा यस पटक खण्डीकृत वर्षा भइरहेको छ । रसुवालगायत क्षेत्रमा ठुलो क्षति हुने गरी बाढी आउँदा तराईलगायतका विभिन्न जिल्ला सुक्खा बनिरहेका बेला आज पनि केही क्षेत्रमा भने भारी वर्षा भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज पछिल्लो ६ घण्टामा मात्रै एक ठाउँमा अति भारी र चार ठाउँमा भारी वर्षा भएको छ । सबैभन्दा बढी पानी सिन्धुपाल्चोकमा भएको छ । त्यहाँको गोब्रे वर्षा मापन केन्द्रमा ११७ मिलिमिटर वर्षा भएको हो । यस्तै सिन्धुपाल्चोककै तारके घ्याङमा ५३.४ मिलिमिटर पानी परेको छ । यस्तै मकवानपुरको मार्खुमा ५२.२ मिलिमिटर, मकवानपुरकै सिलिङेमा ६५.४ मिलिमिटर, डोटीको झिङरानमा ५८.४ मिलिमिटर पानी परेको छ ।
विभागका अनुसार ५० देखि १०० मिलिमिटर वर्षालाई भारी वर्षाका रूपमा चिनिन्छ । विभागका सूचना अधिकारी दिनकर कायस्थले मनसुन कमजोर रहेको र राम्ररी सक्रिय हुन नसकिरहेको बताए । विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास नै छ । आउँदो २४ घण्टामा पनि क्षणिक वर्षा हुने भएकाले गर्मी यथावत् नै रहने जनाइएको छ ।