सडक विभागको बाटोमा खाल्डो छैन : मन्त्री दाहाल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडक विभागले बनाएको बाटोमा खाल्डाखुल्डी नभएको बताएका छन्। उनले खाल्डो भएको देखिए जानकारी दिन अनुरोध गरेका छन्।
दाहालले काठमाडौंमा खाल्डो परेको बाटो महानगरपालिकाको हुन सक्ने बताएका छन्। विभागले बनाएको बाटो छुट्याउन बिजुलीका पोलमा ‘स.वि.’ लेखिएको जानकारी उनले दिएका छन्।
महानगर यातायात प्रालिको विद्युतीय बस सेवा शुभारम्भ कार्यक्रममा मन्त्री दाहालले नेपाल विद्युतीय सवारीको युगमा प्रवेश गरिसकेको बताएका छन्। उनले साना गाडी विस्थापन गर्ने र सार्वजनिक गाडीमा क्यासलेस प्रणाली लागू गर्ने नीति रहेको बताएका छन्।
मन्त्री दाहालले ड्राइभिङ लाइसेन्सको समस्या समाधान भइसकेको दाबी गर्दै १ साउनदेखि प्रदेशमार्फत लाइसेन्स दिने व्यवस्था सुरु भएको बताएका छन्।
उनले पूर्व–पश्चिम र उत्तर–दक्षिण करिडोर निर्माण भइरहेको र ती करिडोरलाई त्रिदेशीय कनेक्टिभिटीका रूपमा विकास गरिने बताएका छन्। यातायातका समस्याबारे छलफल गर्न व्यवसायीहरूसँग बस्न तयार रहेको दाहालले बताएका छन्।
महानगर यातायात प्रालिले बुधबारदेखि १२ वटा विद्युतीय बस सञ्चालनमा ल्याएको छ। प्रालिलाई सार्वजनिक कम्पनी बनाउने तयारी रहेको जनाइएको छ।
प्रतिक्रिया