विपद् व्यवस्थापनमा तीनै तहको समन्वय आवश्यक : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन्।
गृह मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री लेखकले विपद् व्यवस्थापन तीनै तहको साझा कार्यक्षेत्र भएकाले सबै तहको संयुक्त प्रयास आवश्यक रहेको बताए।
उनले सातै प्रदेशमा स्थापना गरिएका आपतकालीन गोदामघरहरू मध्ये काठमाडौँस्थित गोदाम गृह प्राधिकरणको मातहत रहने र अन्य छवटा गोदाम घर प्रदेश सरकारमार्फत सञ्चालन हुने जानकारी दिए।
मन्त्री लेखकले स्थानीय तहलाई विपद् व्यवस्थापनमा अझ सशक्त बनाउने आवश्यकता औँल्याउँदै, पालिकास्तरमै आपतकालीन गोदाम स्थापना गर्नुपर्नेमा जोड दिए।
उनका अनुसार गोदामबाट सामग्री प्रयोगको प्रक्रिया झन्झटिलो भएको अतीतको अनुभवलाई ध्यानमा राख्दै अब प्रदेश सरकारलाई सञ्चालन जिम्मा दिइएको हो।
लेखकले विपद् पूर्वसूचना, खोज, उद्धार र पुनःस्थापनासम्मको सम्पूर्ण प्रक्रिया समन्वयात्मक ढंगले अघि बढाउनुपर्ने बताएका छन्।