काठमाडौं उपत्यकास्थित नदीखोला किनार र आसपासका क्षेत्र बाढीको जोखिम

काठमाडौं । काठमाडौं उपत्यकास्थित नदीखोला किनार र आसपासका क्षेत्र बाढीको जोखिममा छन् । अव्यवस्थित संरचना तथा किनार क्षेत्रमा नदीको बहाव क्षेत्र खुम्चिँदै जाँदा जोखिम थपिएको हो ।
काठमाडौंको कपन र सरस्वतीनगर बाढीमा पर्ने गरेको विषय बर्सेनि चर्चामा रहँदै आएकोमा यस वर्ष त्यहाँका वासिन्दा त्यत्ति चिन्तित देखिँदैन । काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानका नागरिक बाढी, डुबान र पहिरोको समस्या झेल्न बाध्य छन् । काठमाडौं, ललितपुर र भक्तपुरका सबै नदीखोला किनार अतिक्रमणमा परेका छन् ।
शहरी विकास मन्त्रालयअन्तर्गत अधिकार सम्पन्न बागमती सम्भता एकीकृत विकास समितिको तथ्याङ्क अनुसार बागमती नदीको किनारमा मात्रै शान्तिनगर, शङ्खमूल, कालीमाटीसहित ११ स्थानमा अव्यवस्थित बसोबास छ । समितिका आयोजना उपनिर्देशक उद्धव नेपालका अनुसार विष्णुमती किनारमा १० स्थान र मनोहरा किनारको मनोहरा, धोबीखोला किनारका पाँच स्थान अतिक्रमणमा परेका छन् ।
२०८१ असोज १० देखि १३ गतेको भीषण वर्षा र बाढीका कारण कारणका तिनै जिल्लामा बाढीले ठुलै क्षति पुर्याएको थियो । बागमती नदी, विष्णुमती, मनोहरा, धोबीखोला, टुकुचासहित सबै खोला किनारका बस्ती डुबानमा परेका थिए ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले गत वर्षको बाढीको क्षतिलाई दृष्टिगत गरी जोखिमयुक्त क्षेत्र पहिचान गरिएको बताए । उनले विपत् व्यवस्थापन समिति, प्रहरी, प्रशासनले विपत्का लागि चाहिने सामग्री, जनशक्ति व्यवस्थापन, तालिम लिने कार्य र स्वयंसेवक पनि तयार गरिएको बताए ।
काठमाडौंमा बागमती नदी, रुद्रमती (धोबी खोला), भक्तपुरमा चाँगुनारायण नगरपालिका र भक्तपुर नगरपालिकाका विभिन्न स्थान तथा ललितपुरमा बागमती नदी किनार, गोदावरी र अन्य खोला किनारवासी जोखिममा छन् ।