त्रिशूलीपछि नारायणी नदीमा बाढीको खतरा, सावधानी राख्न अपिल

काठमाडौं । नारायणी नदीमा पनि बाढी आउने खतरा भएको भन्दै प्रहरीले माइकिङ गरेर सतर्कता अपनाउन आग्रह गरेको छ । चितवन प्रहरीले माइकिङ गरी नदी किनारमा नजान र नदी किनारका बस्तीका स्थानीयलाई सतर्क रहन आग्रह गरेको हो ।
तिब्बतबाट आएको बाढीको प्रभाव त्रिशूली नदी र बुढीगण्डकी दोभानसम्म देखिन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । मंगलबार बिहान तिब्बतबाट आएको बाढी भोटेकोशी नदीमा मिसिएको हो ।
नारायणी नदी जलाधारको त्रिशूली उपजलाधार अन्तर्गत भोटेकोशी नदीमा तिब्बत क्षेत्रबाट ठूलो बाढी प्रवेश गरेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार उक्त बाढी बिहान ५ बजेतिर बेत्रावती आइपुगेको थियो । बेत्रावती केन्द्रमा बहाव करिब साढे २ मिटरसम्म बढेको र हाल केही घट्दो क्रममा रहेको महाशाखाले जनाएको छ ।
मंगलबार बिहान भोटेकोशीमा आएको बाढीले रसुवागढी नाकास्थित नेपाल र चीन जोड्ने मितेरी पुल बगाएको छ । बाढीमा परि ठुलो जनधनको क्षति भएको छ । १८ जना मानिस अझै बेपत्ता रहेका छन् ।