केन्द्रीय सुरक्षा समिति र विपद प्राधिकरणको आकस्मिक बैठक बस्दै

काठमाडौं । रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिकास्थित रसुवागढी नाकामा आएको भीषण बाढी र त्यसबाट भएको गम्भीर क्षतिका विषयमा छलफल गर्न केन्द्रीय सुरक्षा समिति र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको आकस्मिक बैठक आज दिउँसो १ बजे गृह मन्त्रालयमा बस्ने भएको छ।

बैठकमा बाढीको पछिल्लो अवस्था, उद्धार तथा राहत कार्यको समीक्षा, सम्पर्कविहीन व्यक्तिहरूको खोजी प्रयासलाई थप प्रभावकारी बनाउने रणनीति र बाढीले पुर्‍याएको क्षतिको मूल्याङ्कन तथा भावी पुनर्निर्माणका विषयमा छलफल हुने बताइएको छ। मंगलबार बिहान करिब ३ बजे चीनतर्फको केरुङ र लेन्दे नदीमा आएको अविरल वर्षा र त्यसपछिको बाढीले रसुवागढी क्षेत्रमा ठूलो वितण्डा मच्चाएको थियो।

यसका अतिरिक्त, टिमुरे भन्सार कार्यालयको यार्डमा पार्किङ गरिएका कयौं सवारीसाधन बगाएको, ईभी चार्जिंग स्टेशनमा क्षति पुर्याएको र रसुवागढी हाईड्रोपावरको ड्याममा समेत क्षति पुगेको छ। बाढीका कारण पासाङल्हामु राजमार्गअन्तर्गत धुन्चेदेखि टिमुरे सम्मको सडक खण्ड पनि अवरुद्ध भएको छ।

बाढीमा परी उद्धार कार्यका लागि खटिएका ३ जना प्रहरी कर्मचारीसहित हालसम्म १८ जना व्यक्ति सम्पर्कविहीन रहेका छन्। उनीहरुको खोजी तथा उद्धार कार्यलाई तीव्रता दिइएको छ। यद्यपि, ९ जनाको भने यसअघि नै सकुशल उद्धार गरिएको थियो। रसुवाको बाढीकै प्रभावले नदीमा बगेर आएको हुन सक्ने आशंकामा नुवाकोटको विदुर नगरपालिका-४, सिंचाइस्थित त्रिशूली नदीमा मानव शरीरको एक खुट्टा फेला परेको सशस्त्र प्रहरी निरीक्षक दिनेश घिमिरेले पुष्टि गरेका छन्।

यसका अतिरिक्त जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी सुवास हमालका अनुसार गल्छी गाउँपालिका-२ क्यउरेनीटार र गजुरी गाउँपालिका-६ बेल्खुस्थित त्रिशूली नदी किनारमा २ वटा शव फेला परेको छ। शवको अवस्था अवलोकन गर्दा तत्काल भएको घटनामा उनीहरूको मृत्यु भएको अनुमान रहेको हमालले बताए। शवको स्थिति र आकृति अनुसार मृतक दुवै जना पुरुष रहेका छन्। बाढीबाट पुगेको ठूलो भौतिक तथा मानवीय क्षतिलाई मध्यनजर गर्दै सरकारले उच्चस्तरीय बैठक बोलाई परिस्थितिको समग्र समीक्षा गरी भावी कदम चाल्न लागेको हो।

उद्धारमा खटिएका तीन प्रहरीसहित १८ जना सम्पर्कविहीन

रसुवागढीस्थित भोटेकोशी नदीमा आएको भीषण र अप्रत्याशित बाढीले ठूलो मानवीय संकट निम्त्याएको छ। बाढीपछि उद्धारमा खटिएका तीन जना नेपाल प्रहरीका जवानसहित १८ जना सम्पर्कविहीन भएका छन्।

‘सम्पर्कविहीन हुने १८ जनामध्ये तीन जना नेपाल प्रहरी, नौ जना अन्य नेपाली नागरिक र छ जना चिनियाँ नागरिक रहेका छन्। बाढी आएलगत्तै उद्धार तथा खोजी कार्य सुरू गरिए पनि उनीहरूको अवस्था अझै अज्ञात छ’, रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुव प्रसाद अधिकारीले  भने। सहायक प्रमुख जिल्ला अधिकारी अधिकारीका अनुसार, बाढीले टिमुरेस्थित रसुवा भन्सार कार्यालयको यार्डमा व्यापक क्षति पुर्‍याएको छ।

मितेरी पुल बगायो

रसुवास्थित नेपाल-चीन जोड्ने मितेरी पुल बिहान करिब तीन बजे अचानक आएको बाढीले बगाएको छ । त्यहाँ सयौँ इभी गाडी पनि बगाएको अनुमान गरिएको छ । स्याफुरुबेसी जोड्ने सडक सँगै जलविद्युत आयोजनाको संरचनामा पनि क्षति पुर्‍याइएको खबर प्राप्त भएको छ ।

जिल्ला प्रशासन कार्यालय धादिङ, नुवाकोट र रसुवाले त्रिशुली नदीको उपल्लो भाग नुवाकोट र रसुवातर्फ अति भारी वर्षा भएका कारण त्रिशुली नदी किनारका दुवैतर्फ पानीको बहाव बढ्न सक्ने भएकाले त्रिशुली नदी किनारका क्षेत्रमा आवश्यक सतर्कता र सावधानी अपनाउन अनुरोध गरेका छन् । क्षतिको विवरण आउन बाँकी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर