चोभार गल्छी चौडा पार्ने कार्यक्रम नभएको सरकारको स्पष्टीकरण

काठमाडौं ।  शहरी विकास मन्त्रालयले चोभारको गल्छी चौडा गर्ने तथा परापूर्वकालदेखि प्राकृतिक रूपमा रहेको चट्टान हटाउने कुनै उद्देश्य नरहेको स्पष्ट पारेको छ । सरकारले प्राचीन चोभार गल्छीलाई मास्न लागेको भन्दै स्थानीयले त्यसको विरोध गरिरहेका छन् ।

काठमाडौं उपत्यकाको पानीको निकास विन्दु चोभार गल्छीको धार्मिक, सांस्कृतिक तथा प्राचीन पहिचान अक्षुण्ण राख्दै सो क्षेत्रमा हुन सक्ने डुबान न्यूनीकरणका लागि चोभार गल्छीभन्दा माथि विगतमा बगाएर ल्याएको फोहोर हटाउने, पहिरो जान सक्ने सम्भावित क्षेत्र पहिचान गरी रोकथाम गर्ने तथा यसको दीर्घकालीन समाधानका लागि आवश्यक प्राविधिक अध्ययन गरी कार्ययोजनासमेत तयार गर्ने मन्त्रालयले बिहीबार प्रेस विज्ञप्ति जारी गरी स्पष्ट पारेको हो ।

गएको जेठ १४ गते बसेको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको ३२ औँ बैठकले ‘अविरल वर्षाको समयमा चोभार गल्छीबाट हुने नदी प्रवाहमा अवरोध सिर्जना हुँदा वरपरको क्षेत्रमा डुबान हुने गरेकाले आगामी दिनमा उक्त समस्या दोहोरिन नदिन आवश्यकता अनुसार नेपाली सेनासँग समेत समन्वय गरी विपत् जोखिम न्यूनीकरण गर्न सहरी विकास मन्त्रालयलाई निर्देशन दिने’ निर्णय गरेको थियो । सो निर्णय कार्यान्वयन सम्बन्धमा विभिन्न सामाजिक सञ्जाल तथा राजनीतिक दलमा फरक फरक विचार प्रेषित भई जनमानसमा द्विविधा पर्न गएको भन्दै मन्त्रालयले प्रेस विज्ञप्तिमार्फत धारणा सार्वजनिक गरेको हो ।

यसअघि, सहरी विकास मन्त्रालयद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका उपनिर्देशक उद्धव नेपालले काठमाडौं उपत्यकाको निकास विन्दुका रूपमा रूपमा रहेको प्राचीन चोभार गल्छीलाई काट्ने वा चौडा पार्ने कुनै कार्यक्रम नरहेको जानकारी गराएको थियो ।  समितिले सो जोखिम व्यवस्थापनका लागि सहरी विकास मन्त्रालयमार्फत राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई पत्राचार गरिएकोमा जोखिम हटाउन नेपाली सेनाको समेत सहयोग लिएर जोखिम हटाउने छलफल भएको उनले जानकारी दिए ।

नेपाली सेनाबाट भएको अध्ययनले गल्छीभन्दा २० मिटरमाथि नै पाँच वटा ठुल्ठूला ढुङ्गा रहेको पाइएको र त्यसलाई विस्फोटक पदार्थ प्रयोगै नगरी फुटाइने तयारी भइरहेको उनले जानकारी दिए ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर