निजामती विधेयक चलखेल क्षम्य लायक छैन : डा. शेखर

काठमाडौं ।  नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले निजामती सेवासम्बन्धी विधेयकको कुलिङ पिरियड व्यवस्थामा गरिएको हेरफेर क्षम्य गर्न लायक नरहेको टिप्पणी गरेका छन् ।

काठमाडौंमा मंगलवार आयोजित एक कार्यक्रममा उनले संसदको समितिबाट सर्वसम्मत पास भएको विषय संसदमा आउँदा हेरफेर हुनु गल्ती नभई अक्षम्य अपराध भएको दाबी गरे । ‘राजनीति केही छैन भनेपनि हुन्छ,’ कोईरालाले भने, ‘हामी कति गन्धा खेल खेलिरहेका रहेछौं भने संसदको समितिबाट सर्वसम्मत पारित भएको कुरा संसदमा पुग्दा हेरफेर हुन्छ। त्यो त सरासर अपराध हो ।’

उनले दोषी जो भए पनि कारबाहीको दायरामा ल्याइनुपर्नेमा जोड दिए । ‘जो दोषी छन्, तिनीहरूलाई कुनै हालतमा क्षमा गर्न हुँदैन । यसरी गर्न थालियो भने देश कता जान्छ ?’ भन्ने प्रश्नसमेत उनले उठाए ।

राज्य व्यवस्था समितिबाट पारित विधेयकमा अवकाश वा राजीनामा दिएको दुई वर्षभित्र कुनै पनि कर्मचारीलाई संवैधानिक, कूटनीतिक वा सरकारले गर्ने अन्य कुनै नियुक्तिमा नियुक्ति दिन नपाइने प्रावधान राखिएको थियो । तर प्रतिनिधि सभाबाट पास गर्ने क्रममा त्यसमा फेरबदल गरी नियुक्तिको बाटो खुला गरिएको छ । उक्त विषयमा अहिले चौतर्फी आलोचना भइरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर